टिप्पणीबिहिवार, चैत्र ३, २०७३

पिउने कि जिउने?

शेखर खरेल

धूमपान त गर्नै हुँदैन, मदिरालाई पनि सांस्कृतिक अवसरमा सीमित पार्नुपर्छ।

सूर्तीजन्य पदार्थ र मदिरा नसर्ने रोगका मुख्य कारक मानिन्छन्। त्यसैले, यी पदार्थको उपभोगमा अंकुश लगाउने स्वास्थ्य मन्त्री गगन थापाको प्रयासलाई जनउत्तरदायी कदम भन्नुपर्छ। उनी कति सफल होलान् भन्ने संशय चाहिं विगतका अनुभवको आधारमा पनि रहन्छ नै। 

पश्चिमा मुलुकहरूमा धुम्रपानलाई निरुत्साहित गरिएका कारण, अहिले चुरोट उत्पादक बहुराष्ट्रिय कम्पनीहरू उत्पात जनसंख्या रहेका एशियातर्फ सर्दै छन्। विकसित हुन् वा विकासशील, संसारमा शायदै त्यस्ता मुलुक पाइएला, जहाँ कागजी रूपमा धुम्रपानलाई निरुत्साहित नगरिएको होस्।

हाम्रै नेपालमा पनि सूर्तीजन्य उत्पादनको प्रचारप्रसारमा बन्देज लगाइएका कारण आमसंचार, होर्डिङ बोर्ड र भित्तापर्खालमा त्यस्ता विज्ञापन देखिंदैन।

सूर्तीजन्य सामग्रीको उपभोग भने कानूनले नै निषेध गरेका सार्वजनिक स्थलहरू– सडक, चौबाटो, बसपार्क, धार्मिक स्थल, चमेनालय, सिनेमाघर यत्रतत्र सर्वत्र हुँदै आएको छ। ती सामग्रीहरू सुलभ त छन् नै यसका बिक्रीकर्ताको सरोकार पनि केवल ग्राहकसँग मात्र रहन्छ, नाबालिक पनि किन नहुन्।

हामीकहाँ धुम्रपानको बजार फस्टाउनुको अर्को मुख्य कारण यसको मूल्य पनि हो। नेपालमा औसत आम्दानीको दृष्टिले पनि चुरोट महँगो वस्तु होइन।

१०–२० रुपैयाँ पर्ने बिंडी र फिल्टररहित चुरोटदेखि रु.१८० पर्ने स्वदेशी र त्यसभन्दा माथिका आयातीत चुरोटहरू बजारमा उपलब्ध छन्। १–२ खिल्ली खुद्रा खरीद गर्न पनि जताततै पाइन्छ। खुद्रा बेच्दा बढी नाफा कमाइने हुँदा बिक्रेताहरू कत्ति झिंजो मान्दैनन्।

विकसित मुलुकहरूमा हेर्ने हो भने परिदृश्य यसको उल्टो देखिन्छ। त्यहाँ चुरोटको सर्को कति चर्को छ भने सामान्य आयले धान्न मुश्किल पर्छ। जस्तो, अमेरिकाको न्यूयोर्कमा २० खिल्ली फिल्टर चुरोटलाई १४ डलर (रु.१५००) पर्छ भने बेलायतको लण्डनमा ८ पाउण्ड (रु.१०३२) र फ्रान्सको पेरिसमा ५ युरो (रु.५६०)।

सामान्य आय हुने मानिसका लागि यो रकम हप्ताभरको खाद्य बजेट हो। यसकारण पश्चिमा मुलुकमा पैसा र स्वास्थ्य दुवै दृष्टिले धुम्रपान महँगो शोख हो।

मदिराको हकमा चाहिं इस्लामिक बाहेकका विकसित मुलुकहरूमा आ–आफ्नै व्यवस्था छ– 'पिऊ तर जिम्मेवारीपूर्वक' भन्ने तर्कबाट निर्देशित। मदिरा पिएर हूलहुज्जत, होहल्ला गर्ने, तोकिएको सीमाभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरूमाथि शून्य सहनशीलता पाइन्छ।

कम उमेरकालाई मदिरा बेच्नेहरूको त व्यवसाय नै रद्द गरिन्छ। त्यतातिर मिसावटयुक्त र अप्रशोधित मदिरा बिक्री संभव छैन। त्यसैले, विकसित मुलुकहरूमा मदिरा ठूलो समस्या होइन।

नेपालमा भने परम्परादेखि प्रचलनमा रहेको तीनपाने, ऐला, तोङ्वा, छनुवा आदिको खपतबारे आधिकारिक आँकडा राख्न असंभव छ। नेपालमा दिनहुँ ३० हजार लीटर विदेशी मदिरा आयात भइरहेको आँकडा पत्रपत्रिकामा सार्वजनिक भएका छन्।

यसअनुसार दैनिक रु.७२ लाखभन्दा बढीको मदिरा भित्रिरहेको छ। यसमा 'ड्युटी फ्री' बाट भित्रिने मदिरा समावेश छैन। यसमाथि स्वदेशमा प्रशोधित र घरेलु मदिराको खपत थपिन्छ र अर्थतन्त्र, समाज, स्वास्थ्य सबैतिर बहुआयामिक असर पर्छ।

अरू बेला परहेज गर्नेहरू पनि जमघटमा हल्का पिएर 'सोसल' बन्न रुचाएका पाइनुले घुलमिल वा आत्मीयताका लागि मदिरा सहयोगी छ भन्ने धारणा पनि पाइन्छ।

पिउँदै नपिउनेलाई 'टी टोड्लर' (चियासम्म लिने बालक) भनेर उडाउने प्रचलनका कारण कतिपयले मदिरा सेवनलाई पुरुषोचित आदतका रूपमा पनि बुझिदिन्छन्। कसैले 'म पिउदिनँ, धुम्रपान गर्दिनँ' भन्दा सदाचारको रूपमा बुझने विरलै पाइन्छ। बरू सोधिन्छ– “किन! प्रेसर, डायबेटिज छ हो?”

यसकारण पनि नेपालमा कानून मात्रले मदिरा नियन्त्रण हुँदैन। हामीकहाँ यो संस्कृतिजन्य, व्यवहारजन्य विषय हो, जसका लागि व्यवहार परिवर्तन आवश्यक छ। व्यवहार परिवर्तन गर्न सक्दा उपभोगको मात्र सांस्कृतिक अवसरमा सीमित हुन सक्ला। बलिमा बोकाको विकल्प नरिवल भए जस्तै भोलि सांस्कृतिक अवसरहरूमा पनि मदिराको विकल्प आउन सक्ला।

मूल कुरो स्वास्थ्यमै फर्केर एउटा कुरामा प्रष्ट हुनु जरूरी छ– धुम्रपान र मदिरा सेवनलाई एउटै नजरले हेर्नुहुँदैन। धुम्रपान स्वास्थ्यका लागि विल्कुलै हानिकारक छ, सीमाभित्र रहेर मिसावटरहित (घरेलु वा प्रशोधित) मदिरा पिउँदा स्वास्थ्यमा नकारात्मक असर पर्दैन।

मदिरा पिउने वा मदिराले आफूलाई पिउन दिने, पिउनेहरूमा भरपर्ने कुरा हो। मदिरा पिउने सत्यमोहन जोशी र मदिराले पिएका हरिभक्त कटुवाल उदाहरण छन्।

प्रतिकृया दिनुहोस