गोविन्द गौतमका परिवारलाई एमालेको रु पाँच लाख सहयोग
नेकपा एमालेले शहीद गोविन्द गौतमका परिवारलाई रु पाँच लाख सहयोग प्रदान गरेको छ ।
एमालेको मेची–महाकाली अभियानका क्रममा आज महेन्द्रनगरमा आयोजित समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामाको तर्फबाट गौतमका परिवारलाई चेक हस्तान्तरण गरेका हुन् ।
गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली प्रहारबाट २७ फागुनमा कञ्चनपुरको आनन्दबजारमा मृत्यु भएको थियो ।
अध्यक्ष ओलीले महेन्द्रनगरको सभालाई सम्बोधन गर्दै भारतीय पक्षको चर्को निन्दा गरी यो विषयमा भारतले नेपाली जनता समक्ष माफी माग्नुपर्ने बताए ।
उनले अनेकौं अवरोधहरुका बावजुद पनि मेची–महाकाली अभियान सफलताका साथ सम्पन्न भएको बताए । उनले यो अभियान सकिए पनि राष्ट्रियताको अभियान निरन्तर जारी रहने भन्दै अभियानबाट एमालेमात्रै जनताको पार्टी हो भन्ने पुष्टी भएको दाबी गरे ।
ओलीले स्थानीय तहको निर्वाचन तोकिएको मितिमै हुनुपर्ने भन्दै निर्वाचन गराउन नसक्ने भए पुष्पकमल दाहालले सरकारबाट राजीनामा गर्नुपर्ने बताए ।
२१ फागुनमा मेचीको काकडभिट्टाबाट शुरु भएको अभियान अन्तर्गत आजसम्म २४ वटा ठूला आमसभा गरिएको र १५ लाख व्यक्ति परिचालित भएको एमालेको दाबी छ ।
अब ५ चैतमा सुर्खेतमा आमसभा गरी एमालेको अभियान सम्पन्न हुनेछ ।
दीपक ज्ञवाली, महेन्द्रनगरबाट