एनसेलको लाभकरबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलायो लेखा समितिले
संसद्को सार्वजनिक लेखा समितिले एनसेल खरिद बिक्रीबापत राज्यले पाउनुपर्ने पुँजीगत लाभकरका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गर्ने भएको छ ।
लेखा समितिको आजको बैठकले दूरसञ्चार सेवा प्रदायक एनसेलको स्वामित्व परिवर्तन हुँदा राज्यलाई तिनुपर्ने लाभकरका विषयमा मन्त्रिपरिषद्मा प्रस्ताव गएकोबारे प्रधानमन्त्रीको धारणा माग्ने निर्णय गरेको हो ।
समितिको बैठकमा आज उपस्थिति भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले एनसेलको विषयमा मन्त्रिपरिषद्ले निर्णय नगरेको तर एनसेलका तर्फबाट आएको निवेदनका विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल गरेको बताएका थिए ।
बैठकमा अधिकांश सांसदले मन्त्रिपरिषद्मा सिधै निवेदन कसरी पुग्यो भन्ने विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने माग गरेपछि प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरिएको समिति सभापति डोरप्रसाद उपाध्यायले बताए ।
बैठकमा बोल्ने अधिकांश सांसदले एनसेलको स्वामित्व हस्तान्तरण हुँदा राज्यले पाउनुपर्ने कर छुट दिन नहुने धारणा राखेका थिए ।