संविधान संशोधन र निर्वाचनबीच कुनै साइनो छैनः केपी ओली
एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधनलाई बाहना बनाएर स्थानीय निर्वाचन रोक्नु खोज्नु मुलुकको समृद्धि रोक्ने षडयन्त्र भएको बताएका छन् ।
एमालेको मेची–महाकाली अभियान अन्तर्गत कैलालीको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिलेर बसेका नेपालीलाई फुटाउने षडयन्त्रस्वरुप संविधान संशोधनलाई बाहना बनाएर निर्वाचन रोक्ने दाउमा केही समूहले काम गरिरहेको आरोप लगाए ।
“संशोधनका नाममा नाटक भइरहेको छ,” ओलीले भने, “यो मिलेर बसेका नेपालीलाई फुटाउने र तराई–पहाड टुक्र्याउने खेल हो ।”
सभालाई नेताहरु वामदेव गौतम, भीम रावल, गरिना शाह लगायतले सम्बोधन गरेका थिए ।
धनगढीको आमसभा सम्पन्न भइसकेपछि अभियानको टोली महेन्द्रतर्फ लागेको छ ।
दीपक ज्ञवाली, धनगढीबाट