निर्वाचन आचारसंहिता पालना गर्न आयोगको आग्रह
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुकूलको आचरणमा रहन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गरी आगामी ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आयोगले जारी गरेको १९ बुँदे निर्देशन, सुरक्षासम्बन्धी चार बुँदे निर्देशन, निर्वाचन आचारसंहिता २०७२ तथा स्थानीय तह निर्वाचन आचार संहिता–२०७३ गत १८ फागुनदेखि लागू भएको स्मरण गराउँदै सम्बद्ध सबैमा पालन गर्न आग्रह गरेको हो ।
साथै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल सरकारका मन्त्रालय, निकाय, राजनीतिक दल एवम् सङ्घ संस्थालाई गम्भीर हुन पनि अनुरोध गरेको छ ।
निर्वाचन स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सञ्चालन गर्नु अपरिहार्य भएकाले निर्वाचन आचारसंहिता पालनालाई सम्बद्ध सबैले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै आयोगले आचारसंहिता उल्लङ्घन भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने बताएको छ ।
रासस