धादिङको ३६ ईट्टा उद्योगमा ४६ करोड लगानी
धादिङ् जिल्लाभर ३६ वटा ईट्टा उद्योगमा ४६ करोड १३ लाख २ हजार नौ सय पुँजी लगानी रहेको छ ।
३६ ईट्टा उद्योगबाट वार्षिक करिब १६ करोड ५० लाख ईट्टा उत्पादन गर्ने क्षमता रहेको घरेलु तथा सानो उद्योग विकास समिति धादिङकी सूचना अधिकृत इन्दिरा भुलालले जानकारी दिइन् ।
यी उद्योगहरुमा ८ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगार पाएको धादिङ ईट्टा उद्योग व्यवसायी सङ्घका अध्यक्ष एकराज जगुरेलले बताए । त्यसमध्ये करिब १ हजार ६ सयभन्दा बढी बाल मजदुर रहेको हुन सक्ने अध्यक्ष गजुरेलले जानकारी दिए ।
वातावरणीय प्रभाव मूल्याङ्कन नगराई तत्कालीन गाविस सचिवहरुले पैसाकै लागि ईट्टा उद्योग सञ्चालन गर्न सिफारिस गरेको स्थानियहरुले दाबी गरेका छन् ।
ईट्टा उद्योगबाट निस्किएको धुँवा, धुलोले आँखा चिलाउने तथा पोल्ने समस्या व्यहोर्नु परेको स्थानीय रामचन्द्र रुपाखेतीले बताए ।
ईट्टा उद्योगलाई जग्गा भाडामा नदिनेहरुले उद्योगमा काम गर्न नपाउने भएपछि ८ रोपनी जग्गा वार्षिक १६ हजारमा भाडामा दिएको सुभद्रा अधिकारीले बताइन् ।
सरकारले जग्गाको वर्गिकरण नगरी कृषिको पकेट क्षेत्रमा ईट्टा उद्योग सञ्चालन गरेर कृषकहरुलाई उपेक्षा गरेको राष्ट्रिय कृषक समूह महासङ्घ धादिङका अध्यक्ष कमल बहादुर गुरुङले बताए । खेतियोग्य जमिन ईट्टा उद्योगलाई भाडामा दिएपछि स्थानीय रूपमा उत्पादन हुने तरकारी तथा कृषि उत्पादन घट्दै गएको किसानहरूले बताएका छन् ।
सानुबाबु तिमिल्सिना, धादिङ