चिनियाँ राष्ट्रपति र प्रधानमन्त्री चाँडै नेपाल आउन इच्छुक: उपप्रम महरा
चीन भ्रमणबाट आजै स्वदेश फर्किएका उपप्रधानमन्त्री कृष्णबहादुर महराले चीनका राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री ली खछयाङले शीघ्र नेपालको भ्रमण गर्ने निश्चित भएको बताएका छन् ।
आफ्नो पाँचदिने चीन भ्रमण सकेर आज स्वदेश फर्किएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै चीनका राष्ट्रपति पिङ र प्रधानमन्त्री खछयाङले छिट्टै नेपाल भ्रमण गर्ने र त्यसका लागि दुवै देशले आ–आफ्ना परराष्ट्रमन्त्रालयलाई तम्तयार रहन निर्देशनसमेत दिएको जानकारी दिए ।
उनले भ्रमणको मिति भने तय भइनसकेको भन्दै छिट्टै उच्चस्तरीय बैठक र सल्लाह गरी मिति तय हुने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको विशेषदूतका रुपमा उपप्रधानमन्त्री महराले साउन ३१ देखि भदौ ३ गतेसम्म चीनको भ्रमण गरेका थिए । भ्रमणका क्रममा उनले चिनियाँ प्रधानमन्त्री खछयाङसँग १ भदौमा बेइजिङमा विशेष भेटवार्ता गरेका थिए ।
चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति र आफूले शीघ्र नेपाल भ्रमण गर्न उत्सुक रहेको बताएको उनले जानकारी दिए । प्रधानमन्त्री लीले नेपालमा नयाँ संविधान जारी भएपछि राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा नयाँ ढोका खुलेको भन्दै नेपालको आर्थिक एवम् सामाजिक विकासमा चीनले दिँदै आएको सहयोगलाई निरन्तरता दिने बताएको पनि उनले जानकारी दिए ।
“चीनका प्रधानमन्त्री लीले आगामी दिनमा नेपाल र चीनकाबीचको आपसी सम्बन्धलाई नयाँ उचाइँमा पुर्याउन चाहेको बताउनुभयो ।” प्रधानमन्त्री लीसँगको भेटमा उपप्रधानमन्त्री महराले नेपालको पछिल्लो राजनीतिक अवस्था र प्रम दाहालको सन्देश सुनाएको बताए ।
रासस