रिपोर्टबिहिवार, चैत्र ३, २०७३

पुरुषविनाको पहाड

ओमआस्था राई

भूकम्पपछि तन्नेरीले गाउँ छाड्ने क्रम बढ्दा पुनःनिर्माणको काम सुस्त बनेको छ।

विष्णुमाया कार्की । तस्वीर: ओमआस्था राई

भूकम्पबाट भत्किएको घर पुनःनिर्माणका लागि रु.३ लाख अनुदान पाउने आशामा रहेकी सजिना तामाङले असोजमा बल्लतल्ल पहिलो किस्तास्वरुप रु.५० हजार पाइन्। पैसासँगै घर ठडिने आशा जाग्यो। तर, घर बनाइदिने मान्छे भेटिनन्। 

१२ वैशाख २०७२ को भूकम्पपछिको पुनःनिर्माणले मुलुकभित्र प्रशस्त रोजगारी सिर्जना गर्ने मात्र होइन, विदेशमा रहेका कामदार पनि घर फर्कने अपेक्षा गरिएको थियो। तर, भइदियो उल्टो।

भूकम्प प्रभावित १४ जिल्लाका युवाको गाउँ छाड्ने लर्को अघिल्ला वर्षहरूभन्दा बढी देखिएको छ। गाउँमा डकर्मी, सिकर्मीलगायतका मजदूरहरूको संकट पर्न थालेको छ।

राजधानी काठमाडौंबाट ९० किलोमिटर पूर्व सिन्धुपाल्चोकको स्याउले गाविस यतिबेला तन्नेरीविहीन छ। परिणाम, सजिना जस्तै थुप्रै महिलाको नयाँ घरमा सर्ने सपना साकार हुनसकेको छैन। घर बनाउन शुरू नगरे राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले थप अनुदान नदिने कुराले पनि उनीहरूमा चिन्ता थपेको छ।

त्यसो त स्याउलेबाट युवा पलायन हुन थालेको सरकार–माओवादी द्वन्द्वकालदेखि नै हो। माओवादीले स्याउले गाविस अध्यक्षको हत्या गरेपछि यो क्रम झनै बढ्यो। २०६२/६३ मा युद्ध त सकियो, तर गाउँ छाडेकाहरू फर्किएनन्। सक्नेहरू खाडी मुलुक, मलेशिया पुगेका छन्, नसक्ने काठमाडौंमै बसिरहेका छन्।

सजिनाका श्रीमान् राजु तामाङ (२२) पनि मलेशियामै छन्। भूकम्पपछि उनले पैसा त पठाए तर विदा नमिल्दा घर आउन पाएनन्। उनका देवर पनि मलेशियामै छन्, देउरानी भने उनीसँगै बस्छिन्।

भूकम्पले भत्किएको घर पुनःनिर्माणमा खटिएकी सजिना तामाङ।

गएको साता स्याउले पुग्दा मध्याह्नको चर्को घाममा सजिना र उनकी देउरानी भत्केको घरबाट बँचेका ढुंगा बोकिरहेका थिए। उनीहरूका बिरामी ससुरा घाम तापिरहेका थिए, सजिनाकी चार वर्षीया छोरी धूलोमा खेलिरहेकी थिइन्।

बल्लतल्ल फेला परेका दुईजना डकर्मी र एकजना सिकर्मीलाई सजिना र उनकी देउरानी सघाइरहेका थिए। “गाउँमा घर बनाउन जान्ने उनीहरू मात्र हुन्, सबैले उनीहरूलाई मात्र खोज्छन्”, सजिना भन्छिन्। 

भूकम्पबाट मुलुकभर कुल ८ हजार ९७९ जनाको ज्यान गएको थियो, जसमा सिन्धुपाल्चोक जिल्लामा मात्र ३ हजार ५३२ जनाको मृत्यु भएको थियो। स्याउले गाविसमा मात्रै ६३ जनाको ज्यान गएको थियो भने एक हजार १६४ घर भत्किएका थिए।

सुरक्षित आप्रवासन परियोजनाको अनुमानमा भूकम्पपछि सिन्धुपाल्चोकबाट ८ हजार पुरुषले गाउँ छाडेका छन्, जसमध्ये स्याउलेबाट मात्र ४५० जना छन्।

गत वर्ष नै भत्किएको घर बनाउन पहिलो किस्ता पाएकी विष्णुमाया कार्कीले पनि मिस्त्री पाएकी छैनन्। “पैसा छ, सामान पनि छ तर घर बनाउने मजदूर नै छैनन्”, उनी भन्छिन्। भूकम्पले घर भत्काएपछि विष्णुमाया, उनका श्रीमान् र बिरामी ससुरा अहिलेसम्म छाप्रोमै छन्। नेपाल प्रहरीमा जागिरे उनका दुई छोरा काठमाडौंमा बस्छन्।

अहिले स्याउलेका २५० परिवारले मात्र नयाँ घर बनाउन थालेका छन्। तर, धेरैले घर बनाउन शुरू नै नगरेको भन्दै पुनःनिर्माण प्राधिकरणले दोस्रो किस्ता रकम उपलब्ध गराएको छैन।

“गाउँमा युवाको अभाव छ, काम जान्ने सिकर्मी र डकर्मीको त झ्नै अभाव छ”, स्याउले गाविस सचिव रामजी थापा भन्छन्, “गाउँलेसँग अनुदानको रकम छ तर जनशक्ति छैन।”

पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यामलाल भुषाल दक्ष सिकर्मी र डकर्मीको अभावमा भूकम्प प्रभावित जिल्लाहरूको पुनःनिर्माण प्रभावित बनेको स्वीकार्छन्। “हामी जथाभावी गरिएको पुनःनिर्माणलाई मान्यता दिंदैनौं” उनी भन्छन्, “तर, भूकम्प–प्रतिरोधी पुनःनिर्माणका लागि दक्ष कामदारको भने ठूलो कमी छ।”

नेपाली सेना र पुनःनिर्माण प्राधिकरणबीच हालै मात्र स्थानीयलाई सिकर्मी/डकर्मी तालीम दिनेबारे सहमति भएको छ। स्याउलेका राजबहादुर श्रेष्ठको भनाइमा, यसबाट गाउँलेलाई ढिलै भए पनि केही राहत मिल्नेछ। “गाउँमा बचेका थोरै पुरुषले तालीम लिन पाउने भए”, उनी भन्छन्।

बलबहादुर थापा

डकर्मीलाई भ्याईनभ्याई
डकर्मी काम थालेको १७ वर्षमा बेलबहादुर थापा अहिले जति व्यस्त कहिल्यै भएका थिएनन्। तर, जब राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले गत असोजमा पहिलो किस्ता उपलब्ध गरायो, सबैले एकैपटक निर्माण कार्य शुरु गरे।

सिन्धुपाल्चोक इर्खु गाविसका थापा जिल्लाका थोरैमध्ये एक दक्ष डकर्मी हुन्। इर्खुका अधिकांश घर भूकम्पमा भत्किएका छन्। जापान इन्टरनेशनल को–अपरेसन (जाइका) बाट साता लामो डकर्मी तालीम लिएका थापा अहिले भूकम्पपीडित दृष्टिविहीन परिवारका लागि भूकम्पप्रतिरोधी घर बनाउने टोलीको नेतृत्व गरिरहेका छन्। यो परियोजनालाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सहयोग गरिरहेको छ।

गत कात्तिकयता लगालग थापाले चारवटा घर बनाइसके र केही महीनाका लागि उनी अहिल्यै 'बूक' भइसकेका छन्। “धेरैले घर बनाइदिन बोलाइरहेका छन्, तर म एक समयमा एउटा घरमा मात्र काम गर्छु”, उनी भन्छन्। इर्खुमा प्रतिदिन रु.७०० कमाइरहेका थापा सदरमुकाम चौतारा गए सजिलै रु.१ हजार कमाउँछन्।

“जिल्लाका डकर्मी र सिकर्मीहरू महीनौंसम्मका लागि 'बूक' भइसकेका छन्, एउटा क्षेत्रमा काम सक्छन् र अर्कोमा लागिहाल्छन्”, यूएनडीपीका सञ्जय परियार भन्छन्।

प्रतिकृया दिनुहोस