एमालेको मेची–महाकाली अभियान आज धनगढी र महेन्द्रनगरमा
एमालेको मेची–महाकाली अभियान अन्तर्गत आज धनगढी र महेन्द्रनगरमा आमसभा हुँदैछ ।
कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा हुने आमसभामा एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।
अभियान अन्तर्गत हिजो बर्दियाको राजापुर, कैलालीको लम्की र टीकापुरमा आमसभा भएको थियो ।
एमालेले भोलि नै महेन्द्रनगरमा अभियानबारे पत्रकारसम्मेलनको समेत आयोजना गरेको छ ।
२१ फागुनमा मेचीको काकडभिट्टाबाट शुरु भएको एमालेको मेची–महाकाली अभियान २३ फागुनमा सप्तरीको राजविराज पुगेपछि तीन दिनका लागि स्थगित भएको थियो ।
राजविराजमा एमालेको आमसभा विथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलीबाट ५ जनाको ज्यान गएपछि एमालेले अभियान तीन दिन रोकेर हेटौंडाबाट शुरु गरेको थियो ।
-दीपक ज्ञवाली