आईजीपी नियुक्ति मुद्दामा आज बहस हुँदै
प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धी मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
सरकारले १ फागुनमा डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । अर्का डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालले मन्त्रिपरिषदको निर्णय विरुद्ध रिट दायर गरेका थिए ।
सर्वोच्चले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि निमित्त प्रहरी महानिरीक्षकका रुपमा एआईजी डा.दिनेशचन्द्र पोखरेल कार्यरत छन् ।
आईजीपी नियुक्तिसम्बन्धी मुद्दा सर्वोच्च अदालतका न्यायाधीश द्वय ईश्वरीप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासमा परेको छ । यो मुद्दालाई संयुक्त इजलासको दोस्रो मुद्दाका रुपमा दैनिक पेशी सूचिमा राखिएको छ ।