आजदेखि एसइई परीक्षा सुरु
एसएलसी परीक्षा हटाइएपछि यसैवर्षदेखि प्रारम्भ भएको माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) आजदेखि सुरु भएको छ ।
३ चैत बिहान ८ बजेदेखि देशभरी एकैसाथ एसइई परीक्षा सुरु भएको परीक्षा नियन्त्रण कार्यालय, भक्तपुरले जनाएको छ । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको हो ।
परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार परीक्षामा दुई लाख ५९ हजार ७३२ छात्र र दुई लाख ७८ हजार ४५० छात्रा गरी पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी छन् । परीक्षाका लागि देशभर एक हजार नौ सय २३ केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै, एक हजार ९२३ केन्द्राध्यक्ष, दुईहजार ६४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४६१ निरीक्षक, सहयोगी र सुरक्षाकर्मीसहित ६७ हजार ५९१ जनशक्ति खटाइएको छ । देशभरी शान्तिपूर्ण रुपमा परीक्षा सुरु भएको नियन्त्रक रेग्मीले जानकारी दिए ।
आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी, ४ चैतमा अनिवार्य नेपाली, ६ मा अनिवार्य गणित, ७ विज्ञान, ८ सामाजिक शिक्षा, ९ स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण, १० मा ऐच्छिक प्रथम र ११ चैतमा ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन हुनेछ ।
यसैबीच परीक्षा सुरु नहुँदै महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट नियन्त्रण गरिएको छ । परीक्षा दिनका लागि जिल्लाको विभिन्न २८ वटा परीक्षा केन्द्रमा प्रवेश गर्न लागेका विद्यार्थीलाई मूल गेटमा चेक जाँच गर्दा नौ बोरा चिट भेटिएको हो ।
परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त जाँच गर्दा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप नियन्त्रणमा लिइएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।