मोर्चाद्वारा प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार, आन्दोलनमा जाने निर्णय
सीमाङ्कनलाई थाती राखेर परिमार्जनसहित संविधान संशोधन विधेयक पारित गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्ताव मधेशी मोर्चाले अस्वीकार गरेको छ ।
आज, २ चैतमा बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले सरकारलाई असहयोग र अवज्ञा गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ ।
मोर्चा बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय प्रदेशको सीमांकन हेरफेरको मोर्चाको माग तत्काललाई स्थगन गरेर अरु बुँदा संशोधन गरी निर्वाचनमा जान मोर्चालाई आग्रह गर्दै सरकारलाई दिएको समर्थन फिर्ता नलिन भनेका थिए ।
काठमाडौंको बिजुलीबजारस्थित तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको मोर्चाको बैठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ,
“सरकार र निर्वाचन आयोगद्वारा घोषित निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम र स्थानीय तहको नया संरचना कार्यान्वयनमा पूर्णत: असहयोग गर्ने निर्णय गरिएको छ ।”
सप्तरी घटनापछि सरकारलाई समर्थन गर्नुपर्ने कुनै आधार बाँकी नरहेको भन्दै बैठकमा सहभागी सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बैठकले सरकारको अवज्ञा गर्ने र आन्दोलनमा जाने निर्णय गरेको जानकारी दिए ।
मोर्चाले १५ चैतमा सबै जिल्लाका निर्वाचन आयोगका कार्यालय घेराउ गर्ने निर्णय गरेको छ ।