ब्लगबुधवार, चैत्र २, २०७३

कैलालीमा समृद्धिको संभावना

हिमालखबर

- जीवनप्रसाद राई
नेपालसँग जनशक्ति, रुपैयाँ र विकासको चाहना पनि छ; खाँचो छ त केवल सपना, नीति, परियोजना र इच्छाशक्तिको।

भुरुवा, कैलालीको बगरमा बदाम खेती।

गएको २१ भदौमा बर्दिया राष्ट्रिय निकुञ्ज छिचोल्दै गर्दा ठाउँ–ठाउँमा रहेका सैनिक चेकपोष्टमा बस रोकिन्थ्यो। चेकपोष्ट आउन लाग्दा सहचालकले गाडीको झयालबाट फोहोर नफाल्न, नथुक्न उर्दी जारी गर्थे, यात्रुहरू पनि तदनुरूप बडो सतर्क हुन्थे। जथाभावी थुक्ने, फोहोर गर्ने बानीले हामी नेपालीलाई बदनाम गरेको छ। 

नेपालीको पिच्चपिच्च थुक्ने बानीबारे विदेशीहरूले पनि लेखेका छन्। डा. अरुणा उप्रेतीका अनुसार, उनी सवार माइक्रोबसका चालकले काठमाडौंबाट दोलखा पुग्दा तीनसय पटक थुकेछन्। लाग्छ, यो जीवनकालमा ती चालकले बाटोमा थुक्ने बानी छाड्न सक्ने छैनन्।

हाम्रो टोलीको व्यवहार पनि त्यस्तै रह्यो। चेकपोष्ट छिचोल्नासाथ सबैको मुखमा थुक भरिइसकेको हुन्थ्यो। हामी नेपालीको यो बानीमाथि गम खाँदै र दिक्क मान्दै साँझ् ८ बजे कैलाली सदरमुकाम धनगढी पुगियो। बिहान देखिएको धनगढीले चाहिं मनलाई पूरै हलुका बनाइदियो।

सुदूरपश्चिमका ९ जिल्लाको केन्द्रको रूपमा रहेको धनगढी काठमाडौंभन्दा धेरै सफा छ। सडक पनि फराकिला छन्। दैनिक रु.१०० मा सहकर्मी समाजको पाहुना घरको आतिथ्य कति हो कति अर्थपूर्ण भयो। स्थानीय संघ–संस्थाबाट जिल्लाको कृषि बुझने क्रममा फाया नेपाल र डीसीए नेपालमार्फत भजनी पुगियो, जहाँ बगरखेती गरिएको रहेछ।

धनगढीबाट २४ किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा राजीहरूलाई बगरको बदाम खेतीमा सहभागी गराइएको रहेछ। नेपालमा राजी समुदायको संख्या २२ सय (बर्दिया, कैलाली र कन्चनपुरमा) मात्रै रहेको सरकारी तथ्यांक छ। तराईमा अनेकौं थरीका खेतीपाती देख्न पाइए पनि बगरखेती नौलो हो। पूर्वको झापादेखि सुदूरपश्चिमको कन्चनपुरसम्म नदीले कटान गरेको लाखौं हेक्टर जमीन छ। त्यसलाई कसरी उपयोग गर्न सकिन्छ भन्ने प्रयोग भजनीका राजीहरूले गरेका रहेछन्।

कैलालीको चर्चित ठाउँ टीकापुर, जहाँ राजाले मन्त्रिपरिषद् बैठक राख्थे र 'टाउन प्लानिङ' को नाममा करोडौं रुपैयाँ व्यर्थ व्यय भएको थियो, त्यहाँ अहिले कालु हमालले असली विकास गरिरहेका छन्। टीकापुर बजारबाट तीन किमी दक्षिणमा 'बनाना रिसोर्ट' खोलेका उनले कृषिमा आधारित दिगो उद्यमको नमूना पेश गरेका छन्।

हमाल ती नेपाली हुन्, जसले कृषिमा उच्च शिक्षा लिएर जागीर खाएनन्। करीब १२ बिघा जमीनमा संचालित रिसोर्ट कृषि पर्यटन केन्द्रको नमूना त बनेको छ नै, नेपाली किसानहरूले केरा खेतीबाट गर्न सक्ने चमत्कारको झ्लक देखाइएको छ। ४३ जनाले रोजगारी पाएको हमालको बनाना रिसोर्ट कृषक र कृषि प्राविधिकहरूका लागि शैक्षिक केन्द्र बनेको छ। आजको नेपाली कृषिमा गर्नुपर्ने यस्तै हो।

नेपालको झ्ापादेखि कन्चनपुरसम्मको तराई बेल्ट केराको लागि उर्वर छ। हमालको सिकोमा जाँगर चलाउने हो भने तराईमा केरा खेतीलाई गरीबी र अशिक्षा हटाउने माध्यम बनाउन सकिन्छ। यसका लागि निजी होस् वा सरकारी, तराईको जमीनको वैज्ञानिक उपयोग गरिनुपर्छ। त्यसका लागि सरकारी नीति र कार्ययोजना चाहिन्छ। सुकुम्बासीको नाममा जग्गा बाँड्ने र निजी स्वामित्वको नाममा जग्गा ओगट्ने चल्तीका दुवै तरीका त्याग्नुपर्छ।

अत्तरियाबाट धनगढीतिर जाँदा गेटामा अर्को नमूना कृषिको रूपमा अम्बा खेती देख्न पाइन्छ। १३ बिघामा फैलिएको अम्बा खेतीले सिपालु भारतीय हात पर्दा वर्षमा दुई पटक फसल दिन थालेको छ। अधिवक्ता त्रिभुवनदेव भट्टको यो खेती भारतीय नागरिक मोहमद फैजलले ठेक्कामा लिएर चलाइरहेका छन्।

यद्यपि, कतिपयले 'नेपालीलाई ठग्न आएको यो भारतीय लखेट्नुपर्छ' भन्दा रहेछन्। उनी भने त्यस्ता वाहियात् धाकधम्कीलाई आफूसँग सिक्न आउनेहरूको सम्मानजनक व्यवहारबाट बिर्संदा रहेछन्। उनी अम्बालाई वर्षमा तीनपटकसम्म फलाउने गरिको काँटछाँट र मलपानी गर्ने नेपाली किसानलाई सिकाउन र यही बगैंचाबाट रुपैयाँ कमाउन कटिबद्ध भएर लागेका रहेछन्।

कैलालीमा कृषि, कृषिजन्य उद्योग र कृषि पर्यटनका लागि चाहिने सबथोक छ। यो तालहरूको जिल्ला पनि हो। तिनैमध्येको एक घोडाघोडी तालमा पर्यटक आकर्षित गर्न स्थानीय स्तरबाट सक्दो प्रयास पनि भएको रहेछ।

यसमा पर्याप्त लगानी र प्रचार–प्रसार भने हुनसकेको छैन, जबकि यसमा बहुउद्देश्यीय काम गर्न सकिन्छ। घोडाघोडीमा हङकङ, मलेशिया, थाइल्याण्ड वा सिंगापुरको जस्तो 'अण्डर वाटर वर्ल्ड' नै बनाउन त नसकिएला, तर त्योभन्दा बहुउद्देश्यीय नेपाली काम यहाँ गर्न सकिन्छ।

धनगढीमा क्याप्टेन वेद उप्रेतीको एक्लो प्रयासबाट स्थापित एयर क्राफ्ट म्यूजियमले १९ जनालाई रोजगारी दिने गरिको आन्तरिक पर्यटक प्रवर्द्धन भएको छ त्यस्तै विविध आकार–प्रकार, विशाल क्षेत्रफल र वन भएको घोडाघोडी तालमा स्थानीय कृषिलाई समेत जोडेर ठूलै पर्यटन परियोजना संचालन गर्न सकिन्छ।

नेपालसँग जनशक्ति, रुपैयाँ र तीव्र विकासको चाहना पनि छ। आवश्यकता सपना, नीति, परियोजना, इच्छाशक्ति र जाँगरको छ।

प्रतिकृया दिनुहोस