नेपाली एयरलाइन्सलाई कालोसूचीबाट हटाउन आधारपत्र बुझाइयो
युरोपेली मुलुकले नेपाली एयरलाइन्सहरूको उड्डयनमा लगाउँदै आएको प्रतिबन्ध हटाउने सम्बन्धमा नेपाल सरकारले युरोपेली आयोगलाई औपचारिक आधारपत्र बुझाएको छ ।
नेपाली एयरलाइन्सहरूले हवाई सुरक्षा मापदण्ड (एयर सेफ्टी) पूरा गर्न नसकेको कारण देखाउँदै युरोपली मुलुकहरूले नेपाली एयरलाइन्सलाई कालो सूचिमा राखेका छन् ।
प्रतिबन्ध हटाउन अनुरोध गर्दै परराष्ट्र सचिव शंकरदाश बैरागीले आधारपत्र नेपालका लागि युरोपेली सङ्घकी राजदूत रेन्जे टिरिन्कलाई हस्तान्तरण गरेका छन् ।
परराष्ट्र मन्त्री डा.प्रकाशशरण महतले फागुनको पहिलो साता ब्रसेल्स भ्रमणका क्रममा युरोपेली आयोगका अध्यक्ष जिन क्लाउड युंकर र आयोगकी उपाध्यक्ष फेडेरिका मोगरिनीसँग कालो सूचीबाट नेपाली एयरलाइन्सलाई हटाउन अनुरोध गरेका थिए ।
आधार पत्रमा नेपालले हालैका वर्षहरूमा हवाई सुरक्षामा गरेको प्रगति तथा त्यस सम्बन्धमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले गरेको मूल्याङ्कन समावेश गरिएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको प्राविधिक समूहले गत नोभेम्बर महिनामा गरेको अध्ययन अनुसार उक्त सङ्गठनले हवाई सुरक्षाका सम्बन्धमा तय गरेको मापदण्ड नेपालले पूरा गरेको छ ।
पत्र बुुझ्दै राजदूत रिन्जेले आफूले उक्त पत्र चाँडै युरोपेली सङ्घमा पठाउने र छिट्टै नेपाल उक्त कालो सूचीबाट हट्ने आश्वासन दिइन् ।