टीकापुर घटनाका दोषीलाई कार्वाही गरः झलनाथ खनाल
नेकपा–एमालेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आज बर्दियाको राजापुर र कैलालीको टीकापुरमा आमसभा सम्पन्न भएको छ ।
कैलालीको टीकापुरमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले वरिष्ठ नेता झलनाथ खनालले गतवर्ष टीकापुरमा एसएसपी सहित ९ जनाको हत्या भएको घटनाका दोषीलाई कार्वाही गर्न माग गरे ।
उनले हत्याका दोषीहरु अझै पनि खुलमखुल्ला हिंडिरहेको भन्दै उक्त घटनाको न्यायिक छानविन हुनुपर्ने बताए ।
नेता भीम रावलले जाति र समुदायबीच झगडा गराई फाइदा लिन चाहने समूहबाट सचेत रहन आग्रह गरे । “एउटा जातिलाई अर्कोसँग जुधाउने, पहाड र मधेशबीच फाटो ल्याउने प्रयास भइरहेको छ,” रावलले भने, “जुनसुकै भूगोलमा बसे पनि जुनसुकै जातिका भए पनि हामी नेपाली हौं, लडाउने र झगडा गराउनेहरुविरुद्ध एकजुट भएर उभिनुपर्छ ।”
सांसद गरिना शाहले टीकापुर घटनाका दोषी खुलमखुल्ला हिंडिरहेको र निर्दोष भने जेलमा बस्नु परेको भन्दै घटनाको न्यायिक छानबीन गरी दोषीलाई कार्वाही गर्न माग गरिन् ।
-दीपक ज्ञवाली, टीकापुरबाट