मोर्चाद्वारा सरकारको समर्थन फिर्ता लिएको घोषणा गर्दै संसद बहिस्कार
व्यवस्थापिका–संसद्को आजको बैठकमा तमसपाका अध्यक्ष एवम् सांसद महेन्द्रराय यादवले सरकारलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका छन् ।
वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी उनले दिए ।
साथै उनले बैठकको आजको कारबाही बहिष्कार गर्ने घोषणा पनि गरे ।
उक्त घोषणासँगै सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय समाजवादी पार्टीलगायत मोर्चासहितको गठबन्धनमा आवद्ध दलका सांसद बैठककक्षबाट बाहिरिए ।
बैठकमा सांसद रामकृष्ण यादवले संविधान संशोधन प्रस्ताव पारित गरेर निर्वाचन गर्नुपर्ने भएकाले त्यसतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरे ।
सांसदहरू रेवतीरमण भण्डारी, प्रेम सुवाल, लोकमणि ढकालले समसामयिक विषयमा सदनको ध्यानाकर्षण गराएका थिए ।
रासस