ब्लगशनिवार, भाद्र ४, २०७३

गर्भावस्थामा हाइपरइमेसिस

डा. सुमनराज ताम्राकार

गर्भवती महिलालाई वाक्वाकी लाग्नु सामान्य भए पनि बढी भयो भने हाइपरइमेसिसको खतरा हुन्छ।

गर्भावस्थाको शुरूमा अमन हुने, वाक्वाकी आउने, उल्टी हुने कारणले तौल घटे पनि दोस्रो त्रैमासिकदेखि सुत्केरी व्यथा लाग्नेबेलासम्म मोटामोटी १० देखि १२ किलोसम्म तौल बढ्नुपर्छ। सामान्यतः गर्भावस्थाको प्रथम त्रैमासिकमा १ किलो र दोस्रो तथा तेस्रो त्रैमासिकमा ५–५ किलो तौल बढ्छ। गर्भे शिशु, सालनाल र त्यस वरपरको पानीका साथै गर्भवतीको शरीरमा पाठेघर, स्तन, रगत, बोसो र पानी सञ्चय हुने हुनाले तौल बढ्छ। 

गर्भ जाँच गराउन जाँदा हरेक पटक तौल लिनुको आफ्नै महत्व छ। हरेक पटक तौल लिंदा एक हप्तामा आधा किलोग्रामभन्दा बढी वा एक महीनामा दुई किलोभन्दा बढी भयो भने उच्च रक्तचाप र मधुमेहको खतरा आएको बुझनुपर्छ। त्यस्तै, गर्भावस्थामा तौल बढेन वा स्थिर भइराख्यो भने कुनै कारणले गर्भे शिशुको वृद्धि भइराखेको छैन भनेर बुझनुपर्छ। पाठेघरभित्रै बच्चाको मृत्यु यो अवस्थाको सबभन्दा नराम्रो परिणाम हुनसक्छ।

गर्भावस्थामा आउने परिवर्तन र सुत्केरी व्यथालाई लिएर हुने मानसिक तनाव हटाउन, गर्भवतीको स्वास्थ्य अवस्था सुधार्न, ठीक अवस्थालाई स्थायी राख्न, के खानुपर्छ, के खानुहुँदैन भनेर जान्न पनि नियमित गर्भ जाँच आवश्यक छ। गर्भकालमा महिलाको शरीरमा व्यापक परिवर्तन आउने तथा गर्भे शिशु एवं सालनालको वृद्धि विकास हुने भएकोले अधिक मात्रामा शक्तिको खपत हुन्छ। त्यसकारण यस्तो बेला बढी क्यालोरी र पोषण चाहिन्छ।

यसका साथै, गर्भवती महिलाको स्वास्थ्य तन्दुरुस्त राख्न, रक्तअल्पता हुन नदिन, गर्भे शिशुको आवश्यकता परिपूर्ति गर्न, बच्चा जन्माउने बेला चाहिने शक्ति सञ्चय गर्न र सुत्केरीपछि स्तनपान सफल बनाउन पनि गर्भवती महिलाले अरू बेला भन्दा बढी पोषिलो चिज खानुपर्छ। त्यही कारण, नेवारलगायतका समुदायमा सुत्केरी समय नजिकिंदा माइतीबाट विभिन्न परिकार पठाइदिने चलन चलेको हो।

विभिन्न किसिमका खानेकुरालाई तागत र रोगसँग लड्ने क्षमता दिने आधारमा तीन प्रकारको वर्गीकरण गरिएको हुन्छ। गर्भावस्थामा पोषणको लागि के खाने भन्दा यी तीनै प्रकारका खानेकुरा सन्तुलित रूपमा मिलाई आवश्यक तौल बढ्ने हिसाबले खानुपर्छ। गर्भवतीको सामाजिक–आर्थिक अवस्था, खाने बानी, स्वादको पारख आदिको आधारमा खानाको छनोट फरक पर्ने भए पनि खाना छान्दा हल्का, पोषिलो, राम्ररी पाकेको, सजिलै पच्ने, प्रोटिन र लवण पदार्थ तथा भिटामिनयुक्त पनि हुनुपर्छ। गर्भकालमा अन्य बेला भन्दा दूध बढी खानुपर्छ। कार्बोहाइड्रेट, फ्याट (चिल्लो पदार्थ), प्रोटिन, सूक्ष्म पोषण तत्व (आयोडिन, आइरन, भिटामिन र खनिज पदार्थ) हरू गर्भवतीलाई बढी आवश्यक पर्छ।

सुत्केरी अवस्थामा पनि गर्भावस्थामा जस्तै अत्यधिक पोषण चाहिन्छ। त्यसकारण, सुत्केरीले दैनिक कमसेकम तीन पटक ज्वानो मिश्रित दाल–भात, गेडागुडी, माछा–मासु, अण्डा, कलेजो, हरियो सागपात, दूध खानुपर्छ। आमाको दूधमा रहेको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सुत्केरी महिलाले बच्चा पाएको एक हप्ताभित्र भिटामिन ए दुई लाख आईयू (इन्टरनेशनल युनिट) खानुपर्छ।

हाइपरइमेसिसको सामना
वाक्वाकी लाग्नु र उल्टी हुनु गर्भवती हुँदाको सामान्य लक्षण हो। वाक्वाकी लागेको वा उल्टी भएको हेरेर परिवारजनले गर्भ रहेको ठम्याउने चलन पनि छ। शुरूको तीन महीनासम्म देखिनेे सामान्य खालको यो समस्याले गर्भवतीमध्ये करीब ५० प्रतिशतलाई प्रभावित पार्छ। कसै कसैमा भने यो समस्या दैनिक कामकाजलाई नै प्रभावित पार्ने गरी देखिन्छ। त्यसरी एकदम बढ्ता उल्टी हुने अवस्थालाई मेडिकल भाषामा 'हाइपरइमेसिस' भनिन्छ।

रगतमा ह्युम्यान कोरियोनिक गोनाडोट्रोफिन र ईस्ट्रोजेनको मात्रा बढ्दा यस्तो हुन्छ। शरीरमा इम्युनोलोजिकल नामको रासायनिक पदार्थको गडबडी हुँदा पनि गर्भवती महिलालाई अत्यधिक वाक्वाकी लाग्ने वा उल्टी हुने समस्या देखिन्छ। पहिलो पटकको गर्भमा, जुम्ल्याहा बच्चा हुँदा, अनिच्छित गर्भ बोक्दा, उच्च रक्तचापको समस्या हुँदा, मोलार (सग्लो गर्भको ठाउँमा अंगुरको दाना जस्तो बिग्रेको) गर्भ रहँदा, आमा वा दिदीबहिनीलाई पहिला यस्तै समस्या भएको अवस्थामा हाइपरइमेसिस देखिने सम्भावना बढी हुन्छ।

यस्तो बेला प्रभावित महिलालाई ढाडस दिनु नै महत्वपूर्ण उपचार हो। त्यो अवस्थामा गर्भवतीलाई पाउरोटी, बिस्कुट जस्ता सुक्खा खानेकुरा दिनुहुँदैन। चिल्लो, मसालेदार र अमिलो खानेकुरा पनि एकदमै कम गर्नुपर्छ। अवस्था हेरेर उल्टी रोक्ने औषधि पनि चाहिन सक्छ। उल्टी रोक्ने औषधिले पनि काम नगरे अस्पतालमा भर्ना गरेर सलाइन पानी चलाउनुपर्ने हुन्छ।

प्रतिकृया दिनुहोस