अभिभावक गुमाएका जाजरकोट दुर्घटनाका घाइते बालबालिकालाई सहयोगको खाँचो
जाजरकोटको बोहरामोडमा २६ फागुनमा भएका भएको बस दुर्घटनाका घाइते बालबालिका अभिभावकको अभावमा थप पीडामा परेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका मजकोट–७ का डेढ वर्षीय केशव तिरुवालाई नेपाली सेनाले हेलिकप्टरमा नेपालगञ्ज पुर्यायो । उपचारपछि होसमा आएका तिरुवा नेपालगञ्ज मेडिकल कलेजको बेडबाट आमा–बुवाको खोजी गरिरहेका छन् ।
तर दुर्घटना हुँदा बसमा सँगै रहेकी उनकी आमा लालसरी तिरुवाको मृत्यु भैसकेको छ भने, घाइते बुवा तुले तिरुवाको नेपालगञ्जकै वेष्टन अस्पतालमा उपचार भइरहेको छ । तर, अनजान बालक एकोहोरो बाबा, आमा भनेर कराइरहन्छन् ।
उपचारकै क्रममा रहेका भेरी नगरपालिका–३ का एक वर्षीय निशासन सुनारले पनि अस्पतालकै बेडवाट आमाको खोजी गरिरहेका छन् ।
नाबालक निशासनकी २६ वर्षीया आमा शान्ता सुनारको सोही बस दुर्घटनामा मृत्यु भैसकेको छ । वैदेशिक रोजगारीका लागि एक बर्ष देखि कतार रहेका उनका बुवा मनसुने सुनार घटनालगत्तै नेपालगञ्ज आईपुगेका छन् ।
त्यस्तै भेरी नगरपालिका–११ का चार वर्षीय दिनेश लुहार पनि अस्पतालको बेडबाटै आमाको खोजी गरिरहेका छन् । दुर्घटनामा परेर उनकी आमा गोप्ली लुहारको मृत्यु भैसकेको छ भने, बुवा वैदेशिक रोजगारको लागि मलेशियामा छन् ।
दुर्घटनामा गम्भीर घाईते अर्की बालिका भेरी नगरपालिका–११ मटेलाकी पाँच वर्षीया पुनम सुनारको उपचार नेपालगञ्ज मेडिकल कलेजमा सम्भव नभएपछि काठमाडौं महाराजगञ्जस्थित शिक्षण अस्पताल पु¥याइएको छ । उनका बुवा गोपालको पनि बस दुर्घटनामा परेर मृत्यु भैसकेको छ ।
सम्बन्धित बस व्यवसायी लगायत अन्य कसैले पनि दुर्घटनामा परेर घाईते मात्र नभएर टुहुरा भएका यि चार बालबालिकाको उपचार, खाना तथा आवश्यक पैसामा कुनै सहयोग नगरेको जिल्ला बाल कल्याण समिति जाजरकोटले जनाएको छ ।
घाईते बच्चाहरुलाई उपचारका लागि जाजरकोटका ज्ञानबहादुर शाहीले व्यक्तिगत रुपमा जनही १०/१० हजार सहयोग गरेका छन् ।
उपचारको क्रममा रहेका यी बालबालिकाको उपचार, कुरुवा तथा खानपानमै समस्या रहेकोले सरोकारवाला संस्था वा मनकारीबाट सहयोगको अपेक्षा गरिएको बाल कल्याण समिति जाजरकोटले जनाएको छ ।
पीडित बालबालिकालाई सहयोगका लागि केन्द्रीय बालकल्याण समिति, बालअधिकार स्रोत ब्यक्ति भीम अगस्ती (फोन नं ९८५८७५०११६) लाई सम्पर्क गर्न सकिन्छ ।
दीपबहादुर घर्ती, जाजरकोट