विषवमन होइन, संयम देखाऊँ: लालबाबु यादव
लालबाबुप्रसाद यादव
सांसद्, नेकपा एमाले
महिषपाल र गोपालवंशको पालादेखि नै नेपालको मधेश र पहाडबीच सुसम्बन्ध रहेको देखिन्छ। यति धेरै जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, भौगोलिक विविधता भएर पनि द्वन्द्व नहुनुको कारण परापूर्वकालदेखिकै आपसी सद्भावले गर्दा हो।
हो, हामीकहाँ पहिचान, पहुँच र प्रतिनिधित्वको समस्या छ, जसलाई राज्यले सम्बोधन गर्न आवश्यक छ। तर यसको नाममा कलह र हिंसा भड्काउने गल्ती कसैले गर्नुहुँदैन।
हल्ला गरिएजस्तो संविधान मधेश विरोधी छैन। नागरिकता, संघीयता, भाषा र राष्ट्रियताको विषयमा संविधानमा उल्लेख भएका कुरा ठीक छन्।
यसको प्रभावकारी कार्यान्वयन आवश्यक छ। प्रभावकारी कार्यान्वयनको शुरुआत निर्वाचन नै हो। अर्को कुरा, लोकतन्त्र भन्ने तर आवधिक निर्वाचन रोक्ने कुरा हुनै सक्तैन।
एमालेलाई मधेश विरोधी पार्टी भनेर प्रचार गरिंदैछ, तर केपी ओली प्रधानमन्त्री भएको बेलामा सबभन्दा बढी बजेट मधेशका जिल्लाका लागि छुट्याइयो।
अघिल्लो सरकारको पालामा मृत्यु भएकाहरूलाई क्षतिपूर्ति दिने काम पनि ओली सरकारले नै गर्यो। एमाले र ओलीको लोकप्रियताबाट अत्तालिएकाहरूले गरेको भोटब्यांकको राजनीतिले मधेशलाई नै बन्दी बनाएको छ।
सुरक्षाकर्मीले सतर्कता नअपनाएको भए राजविराजमा गौर घटना दोहोरिने रहेछ।
भोट ब्यांक वा गैरसरकारी संस्थामार्फत लाभको लागि कसैले उत्तेजक कुरा नगरौं। त्यसबाट सिंगो देश खतरामा पर्न सक्छ।
विषवमन र हिंसात्मक अभिव्यक्ति होइन, संयम र लोकतान्त्रिक आचरण अहिलेको आवश्यकता हो।