ओलीको रुट परिवर्तन पछि बाँके सामान्य बन्दै
नेकपा एमालेको मेची–महाकाली अभियानको रुट परिवर्तनपछि बाँके सामान्य बन्दै गएको छ ।
मधेशी मोर्चाको अवरोधका कारण खजुरा हुँदै बर्दिया गुलरिया जाने अभियान टोलीले रुट परिवर्तन गरेको छ । टोली कोहलपुर, लक्ष्मणा हुँदै गुलरिया पुगेको छ ।
“अहिले अवस्था सामान्य बन्दै गएको छ,” घटनास्थल पुगेका थर्ड अलाइन्सका आलम खानले भने ।
एमालेको सभामा जाने र फर्कनेहरुलाई अवरोध गर्दै मधेशी मोर्चाका कार्यकर्ताले सडकमा टायर बाल्न खोजेपछि झडप भएको थियो ।
त्यसक्रममा प्रहरीको लाठीचार्जबाट मोर्चाका एक महिला सहित दर्जन कार्यकर्ता घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भैरहेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक विर बहादुर थापाका अनुसार मोर्चाका कार्यकर्ताले प्रहरीमाथि पेट्रोल बम समेत प्रहार गर्न थालेपछि हवाई फायर गरिएको हो ।
यता आमसभा भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
केशव राना, बाँके