मधेशी दल रहेसम्म मधेशको समस्या समाधान हुँदैन: ओली
मधेशी दल रहेसम्म मधेशका समास्या समाधान नहुने नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन् ।
एमालेको मेची महाकाली अभियान अन्तरगत १ चैतमा नेपालगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले मधेशी दल सच्चिनु पर्ने बताए । आमसभालाई सम्बोधन गर्दै ओलीले भने, “मधेसी दलहरु रहेसम्म मधेशको समस्या समाधान हुँदैन । उनीहरु कति पटक मन्त्री भए । आफूले हारे भने श्रीमतीलाई सासद, मन्त्री बनाउँछन् । समस्या जस्ताको त्यस्तै रहन्छ ।”
मधेशी मोर्चांले ‘१८१ जना मराएको’ र ‘दुई सय जना मारेको’ उनको आरोप थियो । मधेशमा अशान्ति मात्रै ल्याएको आरोप लगाउदै उनले भने, “म आह्वान गर्छु, आउनुहोस्, समृद्धि र विकासमा बाटोमा लागौँ, आफ्नोृ गलत नीति छाड्नुस् ।”
राजनीतिमा पक्ष÷विपक्ष, मतभिन्नता हुने बताउदै त्यसैका नाममा आपराधिक बाटो लिने छुट कसैलाई नहुने उनको भनाइ थियो । संविधान बनिसकेपछि त्यसलाई कार्यान्वयन हुन नदिने कोसिस भइरहेको बताउदै उनले भने, “संविधानले कुनै भेदभाव गरेको छैन । संविधान बनाउने बेलामा विरोधमा उत्रिएकाले तिनीहरुलाई कुरा थाहा छैन होला, पढेर बताइदिए हुन्छ, कहाँ भयो भेदभाव ?”
आमसभालाई सम्बोधन गर्दै एमाले बरिष्ठ नेता माधवकुमार नेपालले एमालेको लोकप्रियताले गर्दा अरु पार्टी डराएको बताए । उनले भने, “एमाले सद्भाव चाहन्छ । तर, अरु पार्टीले जातीय, क्षेत्रीय र धार्मिक विष फैलाउन खोजिरहेका छन् ।”
मधेसी मोर्चाका गलत क्रियाकलापले मधेसलाई घाटा भइरहेको बताउदै हिजोसम्म गुल्जार रहेका राजविराज, जनकपुर, सिरहा, भन्सारमा एक नम्बरमा रहेको बीरगन्ज सुक्दै गएको औल्याए ।
आमसभालाई एमाले उपाध्यक्ष वामदेव गौतम, पोलिट्ब्युरो सदस्य लालबाबु पण्डितले पनि सम्बोधन गरेका थिए ।
केशव राना, बाँके