विशेष आर्थिक क्षेत्र कार्यान्वयन गर्न माग
उद्योग वाणिज्य सङ्घ नुवाकोटले सरकारको प्रतिबद्धताअनुसार नुवाकोटलाई विशेष आर्थिक क्षेत्र (सेज) कार्यान्वयन गर्न माग गरेको छ ।
सरकारले पछिल्लो १० वर्षदेखि नुवाकोटसहित विभिन्न जिल्लालाई सेज घोषणा गर्न जनाएको प्रतिबद्धता कार्यान्वयन गर्न उद्योग वाणिज्य सङ्घले सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको ध्यानाकर्षण गराएको हो ।
सङ्घका जिल्ला अध्यक्ष ताराबहादुर कार्कीले जिल्लाको रातमाटेको महादेवफाँट, जिलिङको पाँचखलेसहित आसपासका क्षेत्रमा सेज घोषणाको तयारीका लागि २०६१ सालमा नै सम्भाव्यता अध्ययन पूरा गरेको बताए । सेजको स्थापनाबाट नयाँ रोजगारको सिर्जना, स्थानीय उत्पादनको प्रवद्र्धन र दैनिक उपभोग्य सामग्री आफ्नै स्थानमा उत्पादन गर्न सक्षम हुने उनको भनाइ छ ।
सरकारले यसअघि विदुर नगरपालिका–६ खम्बाक्याम्पमा सेज निर्माणको सम्भाव्यता अध्ययन गरेको थियो । जिल्लामा ठुला उद्योग तथा कलकारखाना नहुँदा व्यवसायी तथा उद्योगी निराश भएको अध्यक्ष कार्कीले बताए ।
ज्ञापनपत्र बुझ्दै मन्त्री केसीले सरकारको अहिलेको ध्यान निर्वाचनमा केन्द्रित रहेको र निर्वाचन आचारसंहिता जारी भएकाले तत्काल कार्यान्वयनमा केही समस्या हुने बताए ।
रासस