रिपोर्टआइतवार, फाल्गुण २९, २०७३

क्रिकेट सिध्याउने राजनीति

बच्चु विक

२८ फागनुमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल र केन्याको खेल हेर्न उपस्थित दर्शक ।                  तस्वीर: रासस

नेपाल क्रिकेट संघ (क्यान) मा चरम राजनीतिक हस्तक्षेप हुँदैनथ्यो भने यतिबेला काठमाडौंमा नयाँ ‘दुईदिवसीय राष्ट्रिय लिग’ चलिरहेको हुन्थ्यो । दुईमहीने क्षेत्रीय प्रतियोगिताहरूबाट छनोट भएका खेलाडीहरू राष्ट्रिय टोलीसँगै दुईदिवसीय लिगमा प्रतिस्पर्धा गरिरहेका हुन्थे । तर दुईदिवसीय लिग त परै जाओस्, दुई वर्षदेखि राष्ट्रिय लिगसमेत अवरुद्ध छ ।

केशवकुमार बिष्ट

२०७१ मा कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको एकदिवसीय राष्ट्रिय लिग प्रतियोगिता नै पछिल्लो लिग हो । १ चैत २०७१ मा भएको उक्त लिगमा नेपाल आर्मी क्लब च्याम्पियन बनेको थियो । १४ वर्षदेखि प्रत्येक वर्ष क्यानले आयोजना गरिरहेको राष्ट्रिय लिग त्यसयता हुनसकेको छैन ।

एकदिवसीय मात्र होेइन, टी–२० राष्ट्रिय लिग नभएको पनि दुई वर्ष भइसकेको छ । पुरुष मात्रै होइन, महिला क्रिकेटरका लागि पनि यी दुवै लिग हुनसकेका छैनन् ।

चतुरबहादुर चन्द

“दुई वर्षदेखि लिग भएको छैन, जसले गर्दा खेलाडीहरू खुम्चिनु परिरहेको छ”, आईसीसीद्वारा निलम्बित क्यान अध्यक्ष चतुरबहादुर चन्द भन्छन् । क्यान निलम्बित हुँदाको अवस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नै लिग आयोजना गर्नुपर्ने बताउँदै उनी भन्छन्, “तर, सरकार र राखेप टुलुटुलु हेरिरहेका छन्, यसको मार खेलाडीमा परेको छ ।”

राष्ट्रिय प्रतियोगिता मात्रै होइन, गएको दुई वर्षमा क्षेत्रीय र जिल्लास्तरीय प्रतियोगिता पनि बन्द छन् । क्यानले प्रत्येक वर्ष नौ वटा क्षेत्रमा क्षेत्रीय प्रतियोगिता गर्दै आएको थियो । क्षेत्रीय प्रतियोगिता अघि जिल्ला प्रतियोगिताहरू पनि गरिन्थ्यो । विद्यालयस्तरीय प्रतियोगिता पनि हुन्थे । १६ वर्षमुनिको यू–१६ र १९ वर्षमुनिको यू–१९ का जिल्ला, क्षेत्रीय र राष्ट्रिय प्रतियोगिता पनि ठप्प छन् ।

जगत टमटा

बाँके जिल्लास्थित क्यानका अध्यक्ष सञ्जयदत्त सिंह जिल्ला र विद्यालयस्तरीय लिग नहुँदा स्थानीय क्रिकेट ओरालो लागिरहेको बताउँछन् । उनी भन्छन, “घरेलु लिग नहुनु सामान्य कुरा हुँदै होइन, यसले बन्दै गरेको क्रिकेटको माहोल बिगारिरहेको छ ।”

‘ब्याकअप’ नै छैन

घरेलु लिग प्रतियोगिता नहुँदा नयाँ खेलाडी आउने बाटो नै बन्द भएको छ । “पुराना ४०÷४५ जना खेलाडीबाटै राष्ट्रिय टोली बनिरहेको छ, ‘ब्याकअप’ नै छैन”, चन्द भन्छन् । उमेर समूहको राष्ट्रिय टोलीमा पनि नयाँ अनुहार कमै देखिएको उनी बताउँछन् ।

विनोद दास

आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत केन्यासँगको खेलका लागि प्रारम्भमा ५२ खेलाडी छनोट गरिएको थियो । तीमध्ये अधिकांश पुरानै थिए भने केहीलाई एक वर्षको अवधिमा विभिन्न क्लब तथा एकेडेमीद्वारा आयोजित प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार मानिएको राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटा बताउँछन् । “लिग नहुँदा खेलाडी छान्न अरु प्रतियोगिताको भर पर्नुप¥यो, तर, केही नयाँ खेलाडी पनि परेका छन्”, उनी भन्छन् । राष्ट्रिय टोलीको अन्तिम १४ जनाभित्र पहिलोपटक पर्न सफल आसिफ शेख र दीपेन्द्रसिंह ऐरी पनि यू–१९ राष्ट्रिय टोलीका खेलाडी हुन् ।

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दास लिगलगायतका प्रतियोगिता नहुँदा खेलाडी निखारिने अवसर नपाएको बताउँछन् । “नयाँ खेलाडी आउने मूलबाटो नै यही हो”, उनी भन्छन् ।

झापा, क्यानका सचिव मनोज कटुवाल घरेलु लिग नभएका कारण टीममा नयाँ खेलाडी नपरेको बताउँछन् । उनी भन्छन, “यस्तो बेला खेल क्षमताभन्दा पनि व्यक्तिगत चिनजान प्राथमिकतामा पर्छ ।”

शरद भेषवाकर र ज्ञानेन्द्र मल्ल ।

ओरालो यात्रा
नेपाली क्रिकेटको ओरालो यात्रालाई पछिल्लो पटक राजनीतिक रंग दिने काम भने तत्कालीन राखेप सदस्यसचिव युवराज लामाले गरे । ९ कात्तिक, २०६९ मा लामाले क्यानका अध्यक्ष विनयराज पाण्डेलाई हटाउँदै माओवादीका केन्द्रीय सदस्य टंक आङबुहाङको नेतृत्वमा तदर्थ समिति गठन गरे । पुसमा भएको अधिवेशनबाट आङबुहाङ आफैं अध्यक्षमा निर्वाचित भए ।

२५ जेठ, २०७१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यान अध्यक्ष आङबुहाङसहित १० जना पदाधिकारी विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता ग¥यो । २० असोज, २०७१ मा तत्कालीन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले विनयराज पाण्डेको नेतृत्वमा श्रीहर्ष कोइराला उपाध्यक्ष र रमेशकुमार सिलवाल महासचिव बनाई क्यानको नयाँ कार्यसमिति घोषणा गरे । त्यसविरुद्ध आङबुहाङ नेतृत्वको क्यान सर्वोच्च अदालत पुग्यो । ९ मंसीरमा आङबुहाङ नेतृत्वकै समितिलाई काम गर्नु दिनु भनी सर्वोच्चले आदेश दियो । यसैबीच २० कात्तिक, २०७२ मा विशेष अदालतको इजलासले आङबुहाङ नेतृत्वको क्यान पदाधिकारीलाई भ्रष्टाचारको आरोपबाट सफाइ दियो ।

आङबुहाङको चारवर्षे कार्यकाल सकिएपछि २९ मंसीर, २०७२ मा क्यानको साधारणसभाले चतुरबहादुर चन्दलाई नयाँ अध्यक्ष चयन ग¥यो । तर, यो साधारणसभालाई राखेपले मान्यता दिएन ।

राखेप सदस्यसचिव केशवकुमार बिष्टले २४ पुसमा रमेश सिलवालको नेतृत्वमा १५ सदस्यीय क्यानको तदर्थ समिति गठन गरे । त्यस विरुद्ध चन्दले सर्वोच्च अदालतमा रिट दायर गरे, जसको फैसला हुन बाँकी छ । नेपाली क्रिकेटमा भइरहेको राजनीतीकरणबारे जानकार आईसीसीले गत १३ वैशाखमा क्यान निलम्बनको निर्णय ग¥यो । नेपाली क्रिकेट विकासमा यो ठूलो दुर्घटना थियो ।

१९ जुलाई, २०१६ लर्डसमा एमसीसीविरुद्ध जित हात पारेपछि सामुहिक तस्वीर खिचाउदै नेपाली टोली ।          तस्वीरः प्रदिप सिंह

आश मरेको छैन

क्यान निलम्बनसँगै देशभित्रका सम्पूर्ण गतिविधि एकाएक रोकिन पुगे । तर, यति हुँदाहुँदै पनि आशा भने जीवित छ । “व्यवस्थापन सुधार्ने हो भने अझै राम्रो गर्न सकिने प्रशस्त सम्भावना छ”, नेपाली क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास भन्छन् । सन् २०१९ मा हुने विश्वकप खेल्ने लक्ष्य बनाएको नेपालले त्यसैको छनोटका लागि आगामी वर्ष बाङ्लादेशमा हुने वल्र्डकप क्वालिफायर खेल्ने उद्देश्यका साथ अहिले आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप खेलिरहेको छ ।

प्रशिक्षक टमटा क्यानको निलम्बनबारे कानूनी टुंगो लागेसँगै नेपाली क्रिकेटले गति लिने आशा व्यक्त गर्छन् । “निराश भइहाल्नुपर्ने अवस्था छैन” उनी भन्छन्, “क्यानको निलम्बनबारे अदालतको फैसलासँगै एकदिवसीय र दुईदिवसीय लिग चाँडै सञ्चालन भए राम्रो गर्न सकिने ठाउँ छ ।”

निलम्बित क्यान अध्यक्ष चन्द लिगहरू सञ्चालन र क्यानको निलम्बन फुकुवा गर्न राखेप र सरकारले ध्यान नदिएको बताउँछन् ।

राखेप सदस्यसचिव विष्ट क्यानले आयोजना गर्दै आएका लिग प्रतियोगिता नगरे पनि अन्य प्रतियोगिता गरिरहेको बताउँछन् । “छिट्टै राष्ट्रिय प्रतियोगिता गर्छौं, दुईदिवसीय लिग प्रतियोगिताको पनि तयारीमा छौं”, उनी भन्छन् ।

प्रतिकृया दिनुहोस