आगलागी हुँदा जलेर दुई बालकको मृत्यु
गोठमा आगलागी हुँदा जलेर दुई जना बालकको मृत्यु भएको छ भने दुई जना बालिका घाइते भएका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–१ दोवाटामा २८ फागुन राती आगलागी हुदा अर्घाखाँचीको सिद्धारा–६ घर भएका ११ वर्षीय विक्रम पुन र १० वर्षीय संदीप कुमालको मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक झविन्द्र भट्टराईका अनुसार १३ वर्षीया सरस्वती रोकाया आफ्नी बहिनीसहित छिमेकी बिक्रम र संदीपसहित घर भन्दा दुई किलोमिटर टाढा रहेको गोठमा बस्न गएकी थिइन । खाना खाएर सुतेपछि हावाहुरीका कारण चुल्होबाट गोठमा आगो सल्केको थियो । आगलागी भएको थाहा पाएपछि ब्यूझिएकी सरस्वतीले बहिनीलाई बाहिर निकालेकी थिइन भने बिक्रम र संदीपलाई निकाल्न खोज्दा गोठको छतनै खसेको थियो ।
उनी पनि आगोले जलेर घाइते भएकी छन् । सरस्वती र उनकी बहिनीको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।
गोपाल भण्डारी, कपिलवस्तु