मलेठ घटनाको जिम्मा एमालेले लिनुपर्छः मोर्चा
सप्तरीको मलेठमा २३ फागुनमा भएको घटनाको जिम्मा नेकपा (एमाले)ले लिनु पर्ने मधेशी मोर्चाका नेताहरुले बताएका छन् ।
मलेठमा मृत्यु भएका पाँच जनाप्रति श्रद्वाञ्जली दिन सप्तरी पुगेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता उपेन्द्र यादव र राजेन्द्र महतोले २९ फागुनमा राजविराजमा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी एमालेले जिम्मा लिनु पर्ने बताएका हुन । ‘एमालेले मधेश बिरोधी अभिव्यक्ति नदिएको भए, बेला–बेलामा मधेशीलाई नहोच्याएको भए यो घटना हुने थिएन’ यादवले पत्रकार सम्मेलनमा भने ।
त्यस्तै सद्भावना पार्टी अध्यक्ष महतोले मधेशलाई चिढाउने एमाले नेताहरुको अभिव्यक्तिकै कारण मलेठ घटना भएको बताएका छन् । “मधेशमा तपाईंहरुप्रति आक्रोश छ, अहिले नजानुस् भनेर सचेत गराएका थियौं” उनले भने, “जानी जानी सप्तरी गएर घटना गराएको छ ।”
संविधान संशोधनपछि मात्रै चुनाव गर्नु पर्ने उनीहरुको धारणा थियो ।
श्रवणकुमार देव, राजविराज