भूकम्पपीडितलाई दोस्रो किस्ता अझै अनिश्चित
भूकम्प गएको २३ महिना बितिसक्दा पनि सिन्धुपाल्चोक जिल्लाका भूकम्पपीडित दोस्रो किस्ताको विषयमा अझै अनभिज्ञ छन् । नाम छुटेका पीडितले अहिलेसम्म पहिलो किस्तासमेत पाउन सकेका छैनन् ।
जिल्लाको पश्चिम मेलम्ची नगरपालिकाभित्र मात्र नाम छुटेका एक हजार एक सयभन्दा बढी पीडितको गुनासो दर्ता भएको छ । पुनःनिर्माण प्राधिकरणले अहिलेसम्म पीडितको नामावली पठाउन नसक्दा पीडितले स्थायी आवास निर्माण गर्न नसकेको बताउँछन् ।
मेलम्ची नगरपालिकाले वितरण गरेको नौ हजार ७१ भूकम्पपीडित परिचयपत्रमा पुनःनिर्माण प्राधिकरणको टोलीले नगरपालिकाबाट सात हजार ६ सय ९ को नामावली विवरण दिएको थियो । नगरपालिकाभित्र एकसयभन्दा बढी दोस्रो किस्ताका लागि योग्य भएको भए पनि दोस्रो किस्ताको वितरणका लागि अहिलेसम्म कुनै पहल नभएको नगरपालिकाका कार्यकारी प्रमुख पूर्णप्रसाद दुलालले बताए ।
पहिलो किस्ता लिएर आवास निर्माणका लागि अग्रसर भएका पीडितको निर्माणाधीन घरको अवलोकनका लागि इन्जिनियर नपुग्नु पनि प्रमुख समस्या रहेको पीडितको गुनासो छ ।
भूगोलको हिसाबले पनि नगरपालिका निकै ठूलो क्षेत्र भएकाले केन्द्रबाट नियुक्ति लिएर आएका कतिपय इन्जियिनरहरु गाउँगाउँमा जानै नमान्ने तथा छिट्टै सरुवा भएर वा राजीनामा दिएर जाने गरेकाले पनि समस्या अझ थपिएको हो ।
आफूखुसी तथा विभिन्न संस्थाले बनाइदिएका २ सय बढी घरको विषयमा भने नगरपालिका प्रमुख दुलालले मापदण्डअनुसार भएका घरको नक्सापास गर्न सकिने बताए ।
गिरानचौरमा कलाकार धुर्मुस–सुन्तलीले निर्माण गरिदिएका तथा नगरपालिकाको आरुबोटे माझी गाउँमा थाई नेपाली सङ्घ थाइल्यान्डले बनाइदिएका भूकम्प प्रतिरोधात्मक घरको भने कुनै समस्या नरहेको दुलालले बताए ।
आदित्य दाहाल, रासस