भारतले माफी माग्नुपर्छः ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुर घटनामा भारतले माफी माग्नुपर्ने बताएका छन् ।
पार्टीको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आज नारायणगढमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले भारतीयपक्षसँग स्थानीय तवरमा नभई केन्द्रीय स्तरमा वार्ता गरेर मृतक परिवारलाई क्षतिपूर्ति भराउनुपर्ने बताए ।
“अब यस्तो हुँदैन भनेर भारतलाई माफी मगाउनुपर्छ । भारतको बलियो छु भन्ने घमण्ड हो । अर्काको सिमानामा पस्न पाइँदैन । अन्तर्राष्ट्रिय कानुन भारतले पनि मान्नुपर्छ,” ओलीले भने ।
खाली हात आफ्नो सिमाना रक्षा गर्दा गोविन्द गौतम देशको पछिल्लो शहीद भएको भन्दै उनले सच्चा नेपाली देशको रक्षार्थ ज्यानको बलिदानी दिन तयार रहेको बताए ।
सप्तरी घटनाका सन्दर्भमा कडा टिप्पणी गर्दै उनले सरकारले हिंसालाई प्रश्रय दिने काम गरेको आरोप लगाए ।
आपराधिक तत्वहरुलाई सरकारले हिंसा नगर भन्न नसकेको भन्दै उनले थपे, “हामी हिंसामा जाँदैनौँ, तर शान्तिपूर्ण कार्यक्रम रोक्न खोज्यो भने त्यसको परिणाम चर्को हुन्छ भन्न चाहन्छौँ ।”
उनले देश बनाउनका लागि आफूहरु मर्न समेत तयार रहेको दाबी गरे ।
देशलाई कसैको उपनिवेश हुन एमालेले नदिने भन्दै उनले सन्तानलाई पराधीन देश होइन, स्वाधीन र समृद्धि देश जिम्मा लगाउने बताएका थिए ।
सभालाई सम्बोधन गर्दै एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सप्तरीमा पार्टीको नेतृत्व पङ्क्ति एउटै चिहानमा समाप्त पार्ने कोसिस भएको भन्दै एमालेकै संयमताका कारणले थप दुर्घटना नभएको बताए ।
एमालेको उद्देश्य विध्वंसकारी नभएर मधेशमा फैलाइएको भ्रम चिर्नेमात्रै भएको बताए । सप्तरी घटना देश टुक्राउन चाहनेहरुले गरेको आरोप लगाउँदै उनले घटनाबारे छानबिन हुनुपर्ने माग गरे ।
मधेशी, जनजाति, थारु, मुस्लिम, महिला, दलित, हिमाली, पहाडी तराई सबैलाई एमाले विरोधी रहेको भ्रम फैलाइएको भन्दै उनले त्यसैलाई चिर्नका लागि मेची महाकाली राष्ट्रिय अभियान सञ्चालन गरिएको बताए ।
संविधान कार्यान्वयन नभए प्रतिगमनले टाउको उठाउने भन्दै उनले अहिलेसम्मको उपलब्धिलाई खेर जान नदिन निर्वाचन गर्नु अनिवार्य रहेको बताए ।
अभियान आजै मकवानपुरबाट चितवन प्रवेश गरेको हो । चितवनको सीमा लोथरमा अभियानका सहभागीलाई स्वागत गरेर गाउँगाउँबाट राजमार्गमा आएका एमाले कार्यकर्ताहरु समावेश भई र्याली कार्यक्रमस्थल पुगेको थियो । अभियान आजै नवलपरासीतर्फ प्रस्थान गरेको छ ।