ब्लगशनिवार, फाल्गुण २८, २०७३

ग्रामर गुरु: चूडामणि गौतम

सन्त गाहा मगर

२०३७ सालमा प्रकाशित भएर लाखौं प्रति बिक्री भइसकेको चूडामणि गौतमको अंग्रेजी ग्रामर पढ्नेहरूको संख्या बढेको बढ्यै छ।

चूडामणि गौतमको ९४औं पुस्तक हो– 'गौतम नेपाली बगली कोश'। २०३५ सालमा 'आभास' कविता संग्रहमार्फत पुस्तक संसारमा आएका उनको ९५औं पुस्तक 'वर्णविन्यासघातीहरू कानूनको कठघरामा' आगामी चैतभित्र प्रकाशन हुँदैछ। 

७३ वर्षीय गौतमले १४ सय पृष्ठको गौतम एड्भान्स्ड लर्नर्स डिक्सनरी (२०६९), नेपाली–इङ्गलिस डिक्सनरी (२०५८), राम्रो अंग्रेजी बोलचाल अभ्यास (२०५०), गौतम व्यावहारिक नेपाली शब्दकोश (२०७२), विवादित वर्णविन्यासको नेपाली शब्दकोश (२०७३), नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा (२०७१), नेपाली शुद्धाशुद्धि ज्ञान (२०७३) लगायतका भाषा सम्बन्धी पुस्तक लेखेका छन्। तर उनको चिनारी भने ग्रामर लेखककै छ। जुन पुस्तक 'हायर लेभल इङ्गलिस ग्रामर, कम्पोजिसन एण्ड प्रनन्सियसन' (पहिलो संस्करण २०३७) हो। अहिलेका अधिकांश प्राध्यापक, प्रशासक, नेता आदिले यही ग्रामर पढेर अंग्रेजी भाषामा पकड बनाएका हुन्।

“त्यो बेला प्रति सेकेण्ड रु.१ तिरेर रेडियो नेपालबाट किताबको विज्ञापन प्रसारण गराएको थिएँ”, गौतम सम्झन्छन्, “किताबले मलाई नाम र दाम दुवै दियो।”

दुई वर्ष लगाएर लेखेको यो ग्रामरमा उनले २३ वटा पुस्तकलाई सन्दर्भ सामग्रीको रूपमा प्रयोग गरेका छन्। पहिलो संस्करणमा ११ सयप्रति छापेर पूरै बिक्री हुन पाँच वर्षजति लाग्ने अनुमान गरेकोमा २२ दिनमै सकिएको गौतम बताउँछन्।

त्यतिबेला पाठकहरूका लागि उपयोगी पुस्तक लेखेको रहेछु भन्ने अनुभूति भएको उनी सम्झन्छन्। आउँदो चैतभित्र दशौं संस्करण निस्कन लागेको 'हायर लेभल इङ्गलिस ग्रामर, कम्पोजिसन एण्ड प्रनन्सियसन' अहिलेसम्म पाँचलाख भन्दा बढी प्रति बिक्री भइसकेको छ। सात सय पृष्ठको यो पुस्तकको हरेक संस्करण संशोधन र परिमार्जन हुँदै आएको छ।

ग्रामरको ७७ शीर्षकमध्ये क्वेईसन ट्याग (पुच्छ्रे प्रश्न) सम्बन्धी पाठ लेख्न सबभन्दा बढी समय लागेको उनी बताउँछन्। 'लेट्स गो' को 'श्याल वी'?, 'लेट–अस गो' को 'वील यु'? जस्ता शब्दको पुच्छ्रे प्रश्न पहिल्याउन बढी समय लागेको गौतमको अनुभव छ।

आफूले औपचारिक शिक्षा शुरू गर्दाको पाठ्यक्रममा क्वेईसन ट्याग नभएकाले पनि यसमा बढी मिहिनेत गर्नुपरेको उनी बताउँछन्। टेन्स (काल) सम्बन्धी पाठका लागि पनि धेरै मिहिनेत गरेको उनी सुनाउँछन्।

“विद्यार्थी टेन्स पढ्दा वाक्य र त्यसको अर्थ के हुन्छ भन्नेमा सबभन्दा बढी दोधारमा पर्छन्”, गौतम भन्छन्, “यो समस्या हटाउन पहिला रूप र त्यसपछि अर्थ सिकाउने गरी ग्रामर लेखे।”

शब्दको प्रयोग र अर्थमा हुने भेद राम्ररी केलाउन सक्नु गौतमको ग्रामर लेखनको विशेषता हो। अंग्रेजी ग्रामरलाई उनले सरल नेपाली भाषामा व्याख्या गरेका छन्। ग्रामर सम्बन्धी कुनै द्विविधा वा विवाद हुँदा गौतमकहाँ नपुग्ने कुरै भएन।

उनका अनुसार, वाक्य प्रयोग र स्पेलिङसँग सम्बन्धित द्विविधाका प्रश्न बढीजसो पश्चिम नेपालबाट आउँछन्। चार हजारभन्दा बढी शिक्षक–विद्यार्थीको यस्तो द्विविधा हटाएको गौतम बताउँछन्।

ग्रामर लेखनमा पुस्तकहरूलाई नै गुरु थापेका उनी भन्छन्, “द्विविधामा परेका शिक्षक–विद्यार्थीलाई सीधै जवाफ दिन पाउँदा बडो आनन्द लाग्छ।”

रत्न राज्य (आरआर) क्याम्पसका अंग्रेजी लेक्चरर रवीन्द्र न्यौपाने अझै पनि बेलाबेलामा गौतमको ग्रामर पल्टाउने गर्छन्। तनहँु स्थायी घर भएका लेक्चरर् न्यौपाने भन्छन्, “स्कूलमा छँदा चूडामणि गौतमको ग्रामर भनेर पढियो, अहिले सोच्छु सूचनाप्रविधिको विकास नभइसकेको त्यो बेला कति मिहिनेत पर्‍यो होला?” सरल भाषा, प्रशस्त उदाहरण, धेरै अभ्यास, चिठी, निबन्ध लेख्ने तरीका समेटिएकाले पनि पुस्तक लोकप्रिय भएको न्यौपाने बताउँछन्।

सिक्दै लेख्दै
तेह्रथुमको खाम्लालुङ–१ पाकतिनमा १ असोज २००० सालमा जन्मेका गौतमले २१ वर्षको हुँदा आठराईको मोहन माविबाट एसएलसी उत्तीर्ण गरे।

त्यसपछि आईएस्सी पढ्न विराटनगर झरे, तर बिरामी परेर अन्तिम परीक्षामा एक विषय छुटाए। त्यसरी महेन्द्र मोरङ क्याम्पसबाट बाहिरिएका उनले प्राइभेट परीक्षा दिएरै मानविकी र कानूनमा स्नातक गरे। लाखौं विद्यार्थीका अंग्रेजी ग्रामर गुरु बन्न पुगेका गौतमले नेपाली विषयमा स्नातक गरेका थिए।

कक्षा १ देखि १० सम्म प्रथम भएका उनीसँग किताबहरू किनेर पढ्ने आर्थिक हैसियत थिएन। त्यही कारण उनी कलेजमा पनि नियमित विद्यार्थी हुन सकेनन्। विराटनगरमा पढ्दा पनि उनी झापामा पढाउँथे।

२०२८ सालको नयाँ शिक्षा नीतिले ल्याएको परिवर्तनलाई उनले राम्रो अवसरको रूपमा सदुपयोग गरे। नयाँ शिक्षा नीतिले ग्रामर व्यवहारबाट सिक्ने हो भनेर पाठ्यपुस्तक अन्तर्गत राखेन।

परीक्षामा भने करीब ४० नम्बरको प्रश्न ग्रामरबाटै सोधिन्थ्यो। “अंग्रेजी ग्रामरको पुस्तक नभएर विद्यार्थी र शिक्षकलाई गाह्रो भएपछि मलाई लेख्ने सुर चल्यो”, गौतम सम्झन्छन्।

नभन्दै, त्यसको केही वर्षमै उनको 'हायर लेभल इङ्गलिस ग्रामर, कम्पोजिसन एण्ड प्रनन्सियसन' सरकारी विद्यालयका लागि अनिवार्य किताब जस्तै हुन पुग्यो।

पछिल्लो समय अंग्रेजी बोर्डिङ स्कूलहरूमा पनि यो पुस्तकको माग बढ्दो छ। गौतमको ग्रामर पढ्ने–पढाउने मात्र होइन, अनुच्छेदका अनुच्छेद हुबहु सारेर किताब निकाल्नेहरू पनि उत्तिकै बढेका छन्।

त्यो देख्दा पनि उनी खुशी नै मान्छन्। “पहिले किन चोरेको होला जस्तो लाग्थ्यो”, उनी भन्छन्, “अचेल मेरो किताबलाई गुरुकपी मानेछन् भनेर खुशी हुन्छु।”

त्यसो त, गौतमसँग बकाइदा नगदीमा सम्झौता गरेर उनको पुस्तक चलाउनेहरू पनि छन्। जस्तो, उनको नेपाली–इङ्गलिस डिक्सनरीलाई 'हाम्रो पात्रो' समूहले मोबाइल एपमा ल्याउन लागेको छ। त्यसका लागि आफूले गत वर्ष नै नगद 'एड्भान्स' लिइसकेको उनी बताउँछन्।

गौतमले विभिन्न तहका अंग्रेजी सिकारुका लागि ग्रामर बढी लेखे। २०६७ सालमा नेपाल प्रज्ञा प्रतिष्ठान, पाठ्यक्रम विकास केन्द्र र त्रिभुवन विश्वविद्यालयले नेपाली भाषाको सर्वमान्य सिद्धान्त भन्दा फरक नियम बनाएपछि भने उनी 'विद्रोह' को रूपमा नेपाली पुस्तक लेखनमा आए।

त्यसैका उपज हुन्– नेपाली शब्दको दुर्दशा, फुलको माला क्या मज्जा, नेपाली शुद्धाशुद्धि ज्ञान, विवादित वर्णविन्यासको नेपाली शब्दकोश आदि। प्रचलनमा रहेका भन्दा बढी शब्द राखेर सस्तो मूल्यमा उपलब्ध गराउने गरी नेपाली शब्दकोश निकाल्न दैनिक सातघण्टा खटिरहेका गौतम भन्छन्, “अंग्रेजी ग्रामरले नाम–दाम दिए पनि मातृभाषाप्रति अत्याचार भएको देखेर शब्दकोश लेखनमा लागेको छु।”

प्रतिकृया दिनुहोस