भारत विधानसभा निर्वाचनः यूपी र उत्तराखण्डमा बीजेपी, पञ्जाबमा कांग्रेस
भारतमा हालै सम्पन्न विधानसभा निर्वाचन (प्रादेशिक निर्वाचन) को जारी मतगणनाको पछिल्लो परिणाम अनुसार उत्तराखण्ड, उत्तरप्रदेशमा सत्ताधारी बीजेपी अगाडि देखिएको छ ।
उत्तरप्रदेश र उत्तराखण्डमा भाजपा अगाडि छ भने पञ्जाबमा कांग्रेस अगाडि बढिरहेको छ । मणिपुरमा कांग्रेस र भाजपाबीच कडा प्रतिस्पर्धा छ भने गोवामा कांग्रेस अगाडि छ ।
हालसम्म प्राप्त मत परिणाम अनुसार यूपी र उत्तराखण्डमा बीजेपीले दुईतीहाई बहुमत प्राप्त गर्नसक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उत्तरप्रदेशमा ४०२ सिटमध्ये १६ सिटमा बीजेपीले जीत हासिल गरेको छ भने २८६ सिटमा ऊ अगाडि छ । समाजवादी पार्टी र कांग्रेस गठबन्धन ६२ सिटमा अग्रताका साथ दोस्रो स्थानमा छ ।
यसअघि सन् २०१२ को निर्वाचनमा समाजवादी पार्टीले २२४ सिटमा जीत हासिल गरेको थियो, जबकी बहुजन समाजवादी पार्टीले ८०, बीजेपीले ४७ र कांग्रेसले २८ सिटमा मात्र जीत हासिल गरेका थिए ।
उत्तराखण्डमा बिजेपी ७ सिटमा जित हासिल गरेर ४९ सिटमा अगाडि छ भने कांग्रेसले ९ तीन सिट जितेर ९ सिटमा अगाडि छ । राज्यमा कुल ६७ सिट छन् ।
यसअघि २०१२ को निर्वाचनमा भाजपाले ३१ र कांग्रेसले ३२ सिट जितेका थिए । अहिले कांग्रेस मुख्यमन्त्रीले दुई स्थानबाट निर्वाचन हारेका छन् ।
पञ्जाबमा सत्तारुढ अकाली–बीजेपी गठबन्धनभन्दा कांग्रेस अगाडि देखिएको छ । अकाली–भाजपा दोस्रो स्थानमा छ भने राज्यमा पहिलो पटक निर्वाचनमा सहभागी भएको आम आदमी पार्टी तेस्रो स्थानमा छ ।
कुल ११७ सिटमध्ये कांग्रेसले ३१ सिट जितेको छ भने ४६ सिटमा अगाडि छ । बीजेपीले दुई सिट जितेको छ र एउटामा अगाडि छ भने आम आदमी पार्टीले १२ सिट जितेको छ भने ९ सिटमा अगाडि छ । अकाली दलले २ सिट जितेको छ र १२ सिटमा अगाडि छ ।
गोवामा कुल ३४ सिटमध्ये बीजेपीले ९ सिटमा जित हासिल गरिसकेको छ भने दुई सिटमा अगाडि छ । कांग्रेसले ९ सिट जितेको छ भने ४ सिटमा अगाडि छ ।
मणिपुरमा कांग्रेसले १२ सिट जितेको छ भने ७ सिटमा अगाडि छ जबकी बीजेपीले १० सिट जितेको छ भने ७ सिटमा अगाडि छ ।