साझा बसमा आगजनी
काठमाडौंको बालाजु बाइपासमा रोकिराखेको साझा यातायातको बसमा आगजनी भएको छ ।
एअरपोर्ट–नयाँ बसपार्क रुटमा चल्ने साझा यातायातको बा ४ ख ५६४८ नम्बरको बस बाइपासमा रोकिराखेको अवस्थामा एक हुलले पेट्रोल छर्किएर आगो लगाएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्र पाण्डेले जानकारी दिए ।
आगलागीबाट बसको भित्रीभाग जलेर नष्ट भएको छ ।
बसका स्टाफ र सुरक्षा दिइरहेका दुई जना सुरक्षाकर्मी समेत खाना खान गएको अवस्थामा खुकुरी र पेट्रोल बोकेर आएको एक समूहले बसमा आगो लगाएको उनले बताए ।
त्यसबेला बसमा केही यात्रु बसेको भए पनि उनीहरु भने ओर्लिन भ्याएका थिए ।
आज नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बन्दको आह्वान गरेकाले बसमा उनीहरुले नै आगो लगाएको हुनसक्ने प्रहरीले जनाएको छ ।
बसमा लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा निभाइएको छ ।