खेलकुदशुक्रवार, फाल्गुण २७, २०७३

आइसीसी विश्व क्रिकेट लिग: नेपाल र केन्या भिड्दै

हिमालखबर

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत पाँचौ चरणको एक दिवसीय खेलमा नेपाल र केन्या भोलि आमने सामने हुदैँछन् । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि २८ फागुन विहान नेपालले विजय लक्ष्यका साथ केन्याको सामना गर्नेछ ।

नेपाल र केन्याको लागि यो खेल निकै महत्वपूर्ण मानिएको छ । दुवै टोली शीर्ष चारमा रहनको लागि पनि कडा प्रतिस्पर्धा गर्नेछन् । 

शिर्ष चारमा पर्न सके सन् २०१८ मा बंगलादेशमा हुने आइसिसी वान डे विश्वकप छनोटमा छनोट हुने मौका पाउनेछन् ।त्यसैले पनि उक्त खेल निकै प्रतिस्पर्धात्मक बन्नेछ । 

उक्त खेलमा नेपालले दुवै खेल जितेमा १० अङ्क जोड्दै पाँचौं स्थानमा उक्लनेछ । जसले शीर्ष चारको सम्भावनालाई कायम राख्नेछ ।

यदि दुवै खेल हारेको खण्डमा नेपालको शीर्ष चारमा रहर्ने सम्भावना पनि लगभग समाप्त हुनेछ । 

त्यसैले पनि शीर्ष चारभित्र आफनो स्थान सुरक्षित गर्न नेपाललाई जित्नैपर्ने दबाब छ । जारी प्रतियोगितामा आठ खेल खेलेको नेपाल ६ अङ्क जोड्दै आठ टोली सम्मिलित च्याम्पियनसिपको छैटौं स्थानमै छ । 

त्यस्तै समान आठै खेल नै खेलेको केन्या चार खेलमा जित हासिल गर्दै आठ अङ्क जोडेको छ ।

केन्यापछि नेपालले हङकङ र युएईसँग खेल्नेछ भने केन्याले नेपालसँगको खेल पछि नेदरल्याण्ड्स र स्कटल्याण्डसँग खेल्नेछ । 

उक्त खेलका लागि नेपालले दुई महिनादेखि तयारी गरिरहेको छ । केही दिनअघि मात्र नेपाल एक साताको भारत भ्रमण गरेर फर्किएको थियो । त्यहाँ नेपालले विभिन्न टोलीसँग अभ्यास खेल खेलेको थियो । 

बलर करणको स्वास्थ्यमा समस्या 
राष्ट्रिय क्रिकेट टोलीका बलर करण केसी स्वास्थ्य समस्याका कारण बल्खुस्थित बयोधा अस्पताल भर्ना भएका छन् । 

पेट दुख्नुका साथै बान्ता भएपछि उनलाई अस्पताल भर्ना गरिएको नेपाली टोलीका टेक्निकल एनालिष्ट रमन सिवाकोटीले जानकारी दिए । 

उनका अनुसार करणलाई एपेण्डिसाइटिस भएकाले तत्काल अपरेसन गर्नुपर्नेछ । उनको स्थानमा कुन खेलाडीलाई बोलाउने भन्नेबारे निर्णय भइसकेको छैन ।

आइसीसीले स्वीकृत दिएपछि मात्र करणको स्थानमा अर्का खेलाडी ल्याइने एनालिष्ट सिवाकोटीले जानकारी दिए । 

यता कप्तान पारस खड्का पनि उक्त खेल खेल्ने या नखेल्ने भन्ने निक्योल हुन सकेको छैन । उनले तीन साता अघिमात्र एपेण्डिक्सको सल्यक्रिया गरेका थिए ।

कप्तान खड्काले आफु शारिरीक तथा मानसिक रुपमा तयार भएको भन्दै भोलिको खेल खेल्ने या नखेल्ने भोलि नै तय हुने बताए । 

टिकट 
उक्त खेलको लागि आइसीसीबाट टिकट बिक्रीको अधिकार पाएको ई–सेवाले सबै टिकट बिक्री भइसकेको जनाएको छ । ई–सेवाका अनुसार पहिलो खेलका लागि ११ हजार दुई सय टिकट विक्री भइसकेको छ । 

सोमबार हुने दोस्रो खेलको टिकट भने बाँकी छ । टिकटको मूल्य रु दुई सय तोकिएको थियो ।
रासस 

 

प्रतिकृया दिनुहोस