सप्तरी घटना सत्ता गठबन्धनको षडयन्त्रः केपी ओली
एमाले अध्यक्ष केपी ओलीले सप्तरीमा ५ जनाको ज्यान गरी भएको घटना सत्तागठबन्धनकै षडयन्त्र भएको आरोप लगाएका छन् ।
तीन दिन स्थगनपछि आज हेटौंडाबाट शुरु भएको एमालेको मेची–महाकाली अभियान अन्तर्गतको भेलालाई सम्बोधन गर्दै ओलीले मधेशी मोर्चा सहितको सत्ता गठबन्धनको षडयन्त्रकै कारण सप्तरीमा दुर्घटना हुन पुगेको दाबी गरे ।
उनले भने, “सत्ता घटककै मोर्चाले बम, लाठी र ढुंगा प्रहार गरी सुरक्षाकर्मी र एमाले नेता–कार्यकर्तामाथि आक्रमण शुरु गरे, तर आफैं घाइते भएर सुरक्षा दिने सुरक्षाकर्मीलाई सरकारले कारवाहीस्वरुप सरुवा गरेको छ ।”
उनले सुरक्षा दिने अधिकारीलाई सरुवा गरेबाट पनि उक्त घटना षडयन्त्र रहेको पुष्टि हुने दाबी गरे ।
“षडयन्त्रका बीच पनि आजदेखि अभियान फेरि शुरु भएको छ,” ओलीले भने, “यो असाधारण छ र एमालेप्रति जनताको समर्थन प्रष्ट भएको छ ।”
उनले सत्तापक्षले लाशको राजनीति गर्न चाहेको भन्दै सप्तरीमा एमाले नेताहरुको हत्या प्रयास गरिए पनि सफल हुन नभएको भन्दै थपे, “एमाले नेताहरुको हत्या प्रयास गरेर यो अभियान रोकिंदैन ।”
अहिले हेटौंडामा हावा हुरी सहित भएको वर्षाले गर्दा सभा प्रभावित भएको छ ।
दीपक ज्ञवाली, हेटौंडाबाट