कञ्चनपुर घटनाबारे भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार र प्रधानमन्त्री दाहालबीच वार्ता
भारतीय सुरक्षाकर्मीको गोलीबाट कञ्चनपुरको पुनर्वासमा नेपाली युवाको मृत्यु भएको घटनाबारे भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोवल र प्रधानमन्त्री पुष्पकमल दाहालबीच टेलिफोन वार्ता भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट दोवलले प्रधानमन्त्री दाहाललाई टेलिफोन गरी कञ्चनपुर जिल्लाको पुनर्बासमा घटेको घटनामा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति दुख व्यक्त गरेको प्रम दाहालको निजी सचिवालयले जनाएको छ ।
सल्लाहकार दोवलले आज दिउँसो २ बजे प्रधानमन्त्री दाहाललाई फोन गरी कञ्चनपुर घटना दुखद भएको बताउँदै घटनाको छानविन प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् । सचिवालयका अनुसार दोवलले भारत सरकारको छानविन प्रक्रियामा कुटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोष्टमार्टम रिपोर्ट लगायतका अन्य सम्भव जानकारी उपलब्ध गराउन समेत प्रधानमन्त्री दाहालसँग अनुरोध गरेका छन् ।
टेलिफोन सम्वादका क्रममा प्रधानमन्त्री दाहालले कञ्चनपुर घटना अत्यन्तै गम्भीर रहेको र यसको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानविन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताएको सचिवालयले जनाएको छ ।
दाहालले भारत सरकारको छानविनपश्चात् दोषीमाथि ठोस कार्वाही हुने नेपालको अपेक्षा रहेको बताएको पनि प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।