कञ्चनपुर घटनाप्रति सरकार संवेदनशील छ: प्रम दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहालले कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट एक नेपालीको मृत्यु भएको घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन् ।
कञ्चनपुरको पुनर्वासमा मृत्यु भएका गोविन्द गौतमको सम्बन्धमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन गएको नेकपा माओवादी केन्द्र ७ नं प्रदेशको प्रतिनिधिमण्डलसँगको भेटमा उनले नेपाल स्वतन्त्र र स्वाभिमानी राष्ट्र भएकाले स्वतन्त्र राष्ट्रमाथिको हस्तक्षेप कुनै हालतमा मान्य नहुने बताए ।
“घटनाको गम्भीर रुपले छानबिन हुन्छ र दोषीमाथि कारबाही हुन्छ, यसमा सरकार गम्भीरमात्रै होइन, निकै संवेदनशील छ,” दाहालले भने ।
यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले लगातार कूटनीतिक संवाद गरिरहेको तथा गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयबाट विज्ञप्ति जारी गरेर घटनाप्रति खेद प्रकट गरिएकोपनि उनले बताए ।
प्रधानमन्त्रीले भने, “कञ्चनपुर घटनामा सरकारले ध्यान दिएन भन्ने प्रचार पूर्णतः गलत हो, घटना घटेलगत्तै भारतीय दूतावासका कर्मचारी बोलाएर मैले घटनाको अनुसन्धान र कारबाहीका लागि निर्देशन दिएको छु ।”
सो घटनाका विषयमा आज नै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्मा सम्बोधन गर्नेसमेत प्रधानमन्त्री दाहालले जानकारी दिए ।
“कञ्चनपुरको स्थितिका बारेमा मैले लगातार स्थानीय प्रशासन र राजनीतिक दलका नेताहरुसँग कुरा गरिरहेको छु, गोविन्द गौतमलाई सहिद घोषणा गर्ने प्रक्रिया अगाडि बढेको छ, परिवारलाई तत्काल रु १० लाख राहत र गौतमका दुई छोरीको शिक्षादीक्षाको व्यवस्था सरकारले गर्ने निर्णय गरिएको छ," प्रधानमन्त्री दाहालले भने ।
माओवादी केन्द्रका ७ नं प्रदेशका इन्चार्ज लेखराज भट्टद्वारा बुझाइएको ज्ञापनपत्रमा स्व गौतमलाई राष्ट्रिय शहीद घोषणा गर्न, मृतकका परिवारलाई रु ५० लाख राहतको व्यवस्था गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न, दोषीहरुमाथि अन्तर्राष्ट्रिय अदालतमा गएर भए पनि सजाय गर्न, गौतमको शालिक स्थापना गर्न, परिवारलाई शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।
रासस