पर्सा र बारामा बन्द फिर्ता
मधेशी मोर्चासहितको संघीय गठबन्धनले आज, २७ फागुनमा आह्वान गरेको नेपाल बन्दको कार्यक्रम पर्सा र बारामा मधेशी मोर्चाले फिर्ता लिएको छ ।
सप्तरी घटनाको विरोधमा आह्वान गरिएको एक दिने नेपालबन्द कार्यक्रम बिहान ११ बजे देखि फिर्ता भएको हो ।
नजिकिएको होली पर्व र विवाह साइतको समय भएकाले पर्सा र बारामा बिहान ११ बजे देखि बन्दको कार्यक्रम फिर्ता लिइएको मधेसी मोर्चा पर्सा–बाराले जनाएको छ ।
वीरगञ्जको घण्टाघर चोकमा बिहान टायर बालेर प्रदर्शन गरेका मधेसी मोर्चाका नेताहरुले कोणसभाको आयोजना गरी होली पर्व र विवाहको लगनलाई ध्यानमा राखी ११ बजेदेखि बन्द फिर्ता लिइएको घोषणा गरेका हुन् ।
कोणसभामा बोल्दै नेपाल सदभावना पार्टी पर्साका अध्यक्ष कृष्णा पटेलले होली पर्वमा सर्वसाधरण र यात्रुहरुलाई सास्ती नहोस् भनेर बन्दको कार्यक्रम फिर्ता लिएको बताए ।
मोर्चाले बन्द फिर्ता लिएपछि वीरगञ्जमा बजार, पसल, बैंक तथा वित्तीय संस्थाहरु खुलेका छन् भने भाडाका तथा नीजि सवारी साधनहरु पनि सञ्चालनमा आएका छन् । वीरगञ्जबाट छुटने छोटो दुरीका सवारीसाधनहरु र वीरगञ्ज काठमाडौं चल्ने टाटासुमो पनि सञ्चालनमा आएका छन् ।
बारामा पनि मोर्चाले बिहान ११ बजेदेखि नै बन्दको कार्यक्रम फिर्ता लिएको छ । पर्व र विवाहको समयमा सर्वसारणलाई बन्दले सास्ती पुग्ने हुँदा बन्दका कार्यक्रम फिर्ता लिईएको तराई मधेस विद्यार्थी फ्रन्ट बाराका अध्यक्ष सन्तोष यादवले बताए ।
मोर्चाको बन्द फिर्ता भएसंगै बाराको कलैया, परवानीपुर, जितपुर लगायतका स्थानमा बजार तथा पसलहरु खुलेका छन् भने यातायात पनि सञ्चालनमा आएको छ ।
सुरेश बिडारी, वीरगञ्ज