जाजरकोट बस दुर्घटनाः २६को मृत्यु, ओभरलोड र चालकको लापरवाहीले दुर्घटना
जाजरकोटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
सदरमुकाम खलङ्गाबाट साल्मा–५ खारातर्फ गइरहेको ना ३ ख २२७९ नं को यात्रुबाहक बस २६ फागुनमा पासागाड खोलामा दुर्घटनाग्रस्त हुँदा २६ जनाको मृत्यु भएको हो ।
भेरीमालिका नगरपालिका–४ पासागाडमाथि घुमाउरो सडकबाट करिब चार सय मिटर तल खसेर बस दुर्घटना हुँदा ४१ जना घाइते भएको प्रहरीले बताएको छ । सदरमुकामबाट ४३ यात्रु लिएर गुडेको सो बसमा केही पर पुगेर थप यात्रु चढेको घाइतेको भनाइ छ । अहिलेसम्म १५ जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भेरीमालिका नपा–४ का गणेश बोहोरा र नदिल चन्द, भेरीमालिका–३ का शान्त सुनार, भेरीमालिका–१० का सन्तोष चन्द, भेरीमालिका–११ का गोपाल सुनार, बहादुर भण्डारी र शर्मिला सुनार, दसेरा–१ का डिलबहादुर बुढा र दसेरा–२ का मनिराम जैसी, सिमा–९ का मदन पुन, लहँ–४ का रामबहादुर बस्नेत, साल्म–५ का नन्दलाल जैसी, पजारु–८ का नैने दमार्इं, मजकोट–७ का दले तिरुवा र रुकुम चौरजहारीका कृष्णबहादुर गिरी छन् । अन्य मृतकको सनाखत हुन सकेको छैन ।
कार्कीगाउँ–३ कि घाइते बिनाकुमारी खत्रीका अनुसार सदरमुकामबाट एउटै सिटमा तीन जनाका दरले यात्रुलाई कोचिएको थयो । भने सहचालकले ‘प्रहरीलाई नभन्नू’ भनी यात्रुलाई हप्काएका थिए ।
बसपार्कबाट अलि पर खोलामा पुगेपछि दर्जनभन्दा बढी मान्छे गाडीको कोलिया भरिभराउ हुने गरी हालेर जथाभाबी बस हाँकिएको थियो ।
"हामीले धेरै नहाँक भन्दा पनि केही मानेनन् । एक्कासि २० मिनेटमा बोहरा नजिक मोडमा पुग्दा बस मोड्नुपर्ने ठाउँमा सिधै पर्खाल बाहिर गयो । चालकले मदिरा सेवन गरे जस्तो पनि देखिन्थ्यो । यात्रुहरु कोचाकोच गरी बसमा बस्दा साफेर्ने ठाउँसम्म थिएन ।” उनले भनिन् ।
अर्का घाइते रोकायगाउँ गाविसका सचिव टीकाराम रावतका अनुसार बस तीव्र गतिमा थियो, मानिस धेरै हालेका कारण टाउको समेत ठाडो गरेर बस्ने अवस्था थिएन । बच्चाहरु रोइरहेका थिए ।
जाजरकोटका सांसद् एवम् पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले यातायात व्यवसायीको दादागिरीले दुःखद् घटना भएको प्रतिक्रिया दिए ।
हेमन्त केसी, रासस