वैशाखदेखि मिर्गौला प्रत्यारोपण निःशुल्क
यसै वर्षदेखि मिर्गौला रोगीको निःशुल्क डायलासिस गरेको सरकारले आगामी १ वैशाखदेखि प्रत्यारोपण सेवा पनि निःशुल्क गर्ने भएको छ ।
विश्व मिर्गौला दिवसका अवसरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र र आरोग्य प्रतिष्ठानले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य कर कोषको रकम स्वास्थ्य सेवामा खर्च गर्ने गरी सरकारबाट सञ्चालित अस्पतालबाट प्रत्यारोपण निःशुल्क गर्न लागिएको जानकारी दिएका हुन् ।
रोगीका लागि आवश्यक औषधि सहज बनाउन विश्वका स्थापित औषधि कम्पनीसँग छलफल भइरहेको र छिट्टै निर्णयमा पुग्ने मन्त्रालयले जनाएको छ ।
मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक तथा वरिष्ठ प्रत्यारोपण शल्यचिकित्सक डा पुकारचन्द्र श्रेष्ठले विश्वभरि नै तीव्र रूपमा बढिरहेको मोटोपनको समस्याले शरीरका अरू अङ्गसँगै मिर्गौलामा समेत असर पर्ने र मोटा व्यक्तिमा स्वस्थ व्यक्तिमा भन्दा पाँचदेखि सात गुणा बढी मिर्गौला खराब हुने जोखिम रहेको बताए । केन्द्रले हाल मिर्गौला, कलेजो तथा मुटुको जटिल शल्यक्रिया गर्दै आएको छ ।