टिप्पणीबुधवार, फाल्गुण २५, २०७३

'मूल' को राजनीति र काल्पनिकी

प्रा. चैतन्य मिश्र

 

वास्तविकता र काल्पनिक 'तथ्य' लाई अग्रभागमा राखेर 'मूल' मा आधारित संघर्ष गर्नेहरूले आफू समानता, जैविक नश्लीय विशिष्टता वा पृथकतामध्ये केका खातिर लडिरहेको भन्ने जवाफ दिनुपर्छ, किनकि लोकतन्त्रमा नश्लीय विशिष्टता वा पृथकता अटाउने जमीन हुँदैन

'मूल' को भ्रूण र विस्तार
मानव इतिहासमा लामो कालसम्म खाद्य पदार्थ र अन्य सरसामानको उत्पादन, वितरण, उपभोगलगायत सन्तान उत्पादन सम्बन्धी कामहरू स–साना संगठित समूहअन्तर्गत हुने गर्थ्यो।

कुनै समूह निकै ठूलो र एकभन्दा बढी कुलमा विभाजित भएको खण्डमा भने दुलाहा–दुलही छुट्टा–छुट्टै कुलबाट जुटाइने चलन बस्यो। सीमित सामान र सेवाको उपहार, बेचबिखन र लेनदेन पनि आफ्नोभन्दा अन्य कुल र समूहसँग गरिन थालियो। 

खासगरी करीब ८–१० हजार वर्षअघि शुरू भएको प्रकृति आश्रित 'खोजेर खाने' प्रणालीको क्रमिक विघटन र आफैंले खेती गर्ने प्रणाली विकास हुँदै गर्दा सामाजिक सम्बन्धहरूमा उथलपुथलकारी परिवर्तन हुन थाल्यो। घुमन्ते प्रणालीको अन्त्य भई स्थायी बसोबासको बन्दोबस्त भयो।

जनसंख्या र उत्पादन कैयौं गुणा बढ्यो। केही महीना वा वर्षभरका लागि पनि खाद्य पदार्थलगायत अन्य स्रोत–साधन सञ्चित गर्न सकिने भयो। जल, जमीन, जंगल र अन्य उत्पादनका सम्बन्धहरू क्रमशः निजी बन्दै गए। त्यसपछि मात्र शुरू भएको हो, दिगो पारिवारिक तहको असमानता।

शायद, सामाजिक सम्बन्धहरूमा देखा परेका जटिलता र असमानतालाई नियमन गर्न नै राज्यहरूको निर्माण भयो। पक्कै पनि राज्यसत्ता तिनकै हातमा पुग्यो जो साधनस्रोतका हिसाबले अरूभन्दा सम्पन्न थिए, अरूको श्रममाथि हैकम जमाउन सक्थे।

तस्वीर: हिमाल अर्काइभ

सबै सम्पन्न परिवार र कुलहरू सधैं सम्पन्न बनिरहन सक्दैनथे। तर परिवार, कुल आदिकै भरथेगले राजनीतिक शक्ति आर्जन गर्ने, राज्य सत्ता संचालन गर्ने र त्यसका लागि समाजबाट वैधता हासिल गर्ने प्रयत्न गर्दै रहे।

र, त्यसकार्यमा निकै हदमा सफल पनि भए। अर्थात् असमानता दिगो बन्ने क्रममा कुलको निर्माण सम्भव बन्यो। राजाका कुल बने, काजी, मुखिया, जमीनदार आदिका कुल बने। बाहुन, क्षत्री, आदिका पनि कुल बने।

परिवार र कुलको साँघुरो दायराबाट उत्पादन, बेचबिखन, लेनदेन आदिको फैलावट र राज्यसत्ता पनि विस्तार हुने क्रममा यी सम्बन्धहरूले स्थानीयताको सीमा नाघे। सम्बन्धहरू भौगोलिक, राजनीतिक, आर्थिक र सांस्कृतिक तहहरूमा विस्तार हुँदै गए। अर्थतन्त्रको विस्तारित सम्बन्धहरूको जालोमा उनिएका कुलहरू एउटै अर्थतन्त्र, राज्यसत्ता र संस्कृतिका भागीदार बन्दै गए।

यो विस्तारित (झण्डै सबै खण्डमा) पितृकुल र पितृकुलसँग वैवाहिक सम्बन्धमा गाँसिएका कुटुम्ब खलक नै 'मूल' को भ्रूण बन्यो। कुलकुटुम्ब खास भौगोलिक, आर्थिक, राजनीतिक र सांस्कृतिक क्षेत्रमा निर्माण भए र ती क्षेत्र पुनःनिर्माण गर्दै अघि बढे।

यसक्रममा कुलकुटुम्बलगायत अन्य छिमेकी बासिन्दाको चिनारी र अस्तित्वका पाटाहरू पनि त्यस क्षेत्रसँग गाँसियो। यसर्थमा यी कुलकुटुम्ब र अन्य छिमेकी कुलकुटुम्बको जरो अर्थात् 'मूल' त्यस क्षेत्रसँग गाँसिने र प्रवाहित हुने नै भयो।

कालान्तरमा उत्पादन, बेचबिखन, लेनदेन प्रणाली एकीकृत, सघन र विस्तारित हुने क्रममा, राज्य निर्माणको क्रममा बेग्लाबेग्लै रहेका कतिपय भौगोलिक, आर्थिक, राजनीतिक, सांस्कृतिक क्षेत्र र त्यहाँका बासिन्दा आमने–सामने भए। तीमध्ये कतिपय विभिन्न किसिम र मात्रामा एकाकार भए।

एउटै मुलुक या राज्यसंयन्त्रभित्र एकभन्दा बढी भौगोलिक, आर्थिक, राजनीतिक र सांस्कृतिक 'मूल' र क्षेत्रहरू अटाइए। यी 'मूल' र क्षेत्रहरू कतिपय अवस्थामा मिलेर त कतिपय अवस्थामा प्रतिद्वन्द्वी भएर रहे।

तर एकै मुलुकअन्तर्गत रहेकाले 'मूल' हरू आपसमा गाँसिएर र परिवर्तन गर्दै लग्ने भए। कुनै क्षेत्र वा त्यहाँका बासिन्दा खास अवधिका लागि अन्य क्षेत्र र बासिन्दामाथि हावी रहे। कुनै क्षेत्र वा बासिन्दा कुनै क्षेत्रमा हावी भए त कुनै अर्को कुनै क्षेत्रमा।।अर्थात् कुनै अर्थतन्त्रको क्षेत्रमा हावी रहे त कुनै राजनीति वा संस्कृतिमा।

पूँजीवाद, लोकतन्त्र र 'मूल' को संकथन
पूँजीवाद र लोकतन्त्रको विस्तार र सघनतापश्चात् भने लामो कालसम्म स्थिर झैं देखिएको र पुरातन बन्दै गरेको 'मूल' को राजनीति र संकथन पुनर्गठित भयो।

पूँजीवादले सीमित दायराको स्थानीय, भौगोलिक, आर्थिक, राजनीतिक र सांस्कृतिक सीमा उल्लंघन गर्दै अघि बढ्यो। विश्वव्यापी बन्दै हिंड्यो। पूँजीवादले विशिष्टता र पृथकता नसहने भयो, यद्यपि आर्थिक असमानतामा भने महारथ हासिल गर्‍यो।

पूँजीवाद इतर वा पूँजीवाद पूर्वका समाजका भौगोलिक, राजनीतिक र सांस्कृतिक विशिष्टता र पृथकता धुमिल बन्दै गए वा पुनर्गठित हुँदै गए।

विशेषगरी पूँजीवादअन्तर्गत विस्तारित र सघन बन्ने व्यापार, पूँजीको लेेनदेन, आवतजावत, सञ्चार, श्रम–सराइ आदिका कारणले कुल र मूलको राजनीति र संकथन केही कमजोर बन्दै गयो। पूँजीवाद अन्तर्गत नै दास, अर्धदास, पुस्तैनी कमैया र हली आदि श्रम प्रथा मासिंदै गएकोले पनि कुल र मूलको संकथन फिका हुँदै गयो।

पूँजीवादी प्रणालीमा महिलाहरू अन्य प्रणाली वा समाजमा भन्दा परिवार, आफ्नै खेती आदि र अत्यन्त सीमित भौगोलिक घेराबाट बाहिर निस्कने स्थिति बन्यो।

यसो हुँदा कुलीनता अन्तर्गतको मागी विवाह कमजोर हुन थाल्यो र 'मूल' को संकथन थप कमजोर बन्दै गयो। यसै पनि कुल र मूलको प्रसंग पितृसत्ताको द्योतक हो। कुल र मूल महिला–पुरुष समानतासँग पटक्कै मेल नखाने संरचना हो। समग्रतामा 'मूल' को राजनीति र संकथन महिला विरोधी संकथन पनि हो।

पूँजीवाद अन्तर्गत स्थानीय संरचनाहरू पूरै निषेध भएका छैनन्। यसर्थमा 'मूल' को मर्म निषेध वा अवैध भइसकेको छैन। त्यसैले त गएको दुई वर्षयता संयुक्त राज्य अमेरिका र यूरोपमा धर्म, देश, भाषा र नश्लको आधार समेतको 'मूल' को राजनीति र संकथनले महत्व आर्जन गर्न थालेको छ।

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति चुनिनुमा यही 'मूल' को राजनीति र संकथनको बलियो हात छ। मूलतः यही लहरले बेलायतलाई युरोपियन युनियनबाट बाहिर पार्‍यो। नेदरल्याण्ड्स, फ्रान्स, इटलीका साथै पूर्वी यूरोपका कतिपय मुलुकहरूमा पनि यो वहाव चलेको छ। भारतमै पनि नरेन्द्र मोदीको उदयसँगै यो संकथन र राजनीतिले सघनता आर्जन गरेको देखिन्छ।

यति हुँदाहुँदै पनि 'मूल' को संकुचनकारी प्रभावले पुँजीवादको विश्वव्यापी घेरालाई पूर्वावस्थामा पुर्‍याउने शक्ति बोक्दैन। तर, पनि यो संकुचनले पूँजीवादको व्यापकतालाई केही खुम्च्याउने र यसको गति केही सुस्त तुल्याउने सम्भावना भने देखिन्छ।

'मूल' को राजनीति र संकथनको विरोधमा लोकतान्त्रिक प्रणाली बलियोसँग उभिंदै आएको संरचना हो। लोकतन्त्र मूलतः नागरिक समानता, एक नागरिक– एक भोट परिपाटी, राजनीतिक नेतृत्वमा सबै नागरिकको समान दावी रहने प्रथामा आधारित शासकीय प्रणाली भएकैले खास 'मूल' संकथन कमजोर बनेको हो।

कुल, विशेषस्थान, राजनीतिक र धार्मिक आस्था आदिलाई महत्व नदिने भएकाले पनि लोकतन्त्र कुल र 'मूल' विरोधी राजनीतिक प्रणाली हो। जात र जातीय असमानता, लैङ्गिक असमानता आदिको प्रकोप न्यूनीकरण हुने भनेकै लोकतन्त्र अन्तर्गत नै हो। तर, सत्य के पनि हो भने, लोकतन्त्रले नै 'मूल' को राजनीतिको पक्षपोषण र विरोध दुवैको अधिकार र अवसर प्रदान गर्छ।

पूँजीवादी प्रणाली र लोकतन्त्र अहिलेको युगका विराटतम आर्थिक, राजनीतिक र सांस्कृतिक संरचना हुन्। हुन त यी दुवै संरचना अन्तर्गत 'मूल' को राजनीति र संकथन जिउँदोजाग्दो छ।

यसो हुनुमा यी संरचनाहरूभित्र धेरै 'मूल' एउटै परिधिभित्र एकाकार र एउटै मुलुकभित्र रहने स्थिति बनेकाले नै हो। विभिन्न 'मूल' बीच लामो समयदेखि स्थापित पृथकता, पूँजीवाद र लोकतन्त्रअन्तर्गत कायम हुन सकेन। परिणामतः यी दुई संरचनाहरूले 'मूल' को राजनीति र संकथनलाई पूरै दुर्बल तुल्याउन सकेका छैनन्।

यस अर्थमा 'मूल' को राजनीति र संकथनमाथि पूँजीवाद र लोकतन्त्रको प्रभाव केही व्यावहारिक र केही 'सैद्धान्तिक' तहमा सीमित छ। तर यी दुवै संरचना मूलतः जन्मँदै प्राप्त हुने वा थोपरिने जात, जाति, लैङ्गिकता, क्षेत्रीयता आदि विशेषता र असमानताका विरुद्ध नै परिलक्षित छन्।

'मूल' को राजनीतिको एउटा महत्वपूर्ण पाटो के छ भने 'मूल' को चिनारी र अस्तित्वबोध वास्तविक र काल्पनिक 'तथ्य' हरूले निर्मित हुन्छ। 'मूल' को निर्माण अन्य समूहभन्दा पनि पृथकता स्थापित गर्नका खातिर हुने भएकाले सबैजसो समानता गौण तुल्याइन्छन्। थोरै वास्तविक र अधिकांश काल्पनिक विशिष्टताहरूको मिसमास अग्रभागमा राखिन्छ।

'मूल' को काल्पनिकीमा ठूलो भाग ओगट्ने नश्लीयता अधिकांश काल्पनिक हुने गर्छ। कतिपय सांस्कृतिक विशिष्टता वास्तविक हुन सक्छन् तर 'मूल' को काल्पनिकी र राजनीतिमा संस्कृतिका त्यस्ता पाटा वा तह अग्रभागमा राखिन्छ जुन विशिष्ट प्रतीत हुन्छन्। समग्र आर्थिक र राजनीतिक पाटाहरू ओझेलमा पर्छन्, काल्पनिक असमानता र विशिष्टता अगाडि राखिन्छन्।

कुनै 'मूल' विशेषका सबै सदस्यले हुबहु उही चरित्र पक्कै बोकेका हुँदैनन्। तर अर्को 'मूल' को सदस्यका आँखामा पहिलो 'मूल' का सबै सदस्य हुबहु उही नै हुन्छन्, मानौं ती सबैको 'भित्री अनुहार' एउटै हो।

त्यसैगरी कुनै 'मूल' विशेषले कुनै ऐतिहासिक अवधिमा कुनै खास चरित्र ग्रहण गर्‍यो भन्नुको अर्थ त्यो 'मूल' विशेषले सधैं त्यही चरित्र कायम राख्छ वा राखिरहन सक्छ भन्ने हुँदैन। तर आफूमाथि लागेको 'चरित्र' बाट उम्कन 'मूल' विशेषलाई कठिन पर्छ।

अर्थात् वास्तविकता बदलिसक्दा पनि धेरैजसो काल्पनिकी रही नै रहेको हुन्छ। त्यसैले दिगो वैमनस्यलगायत असमानता र भेदभाव अधिकांशतः 'मूल' को काल्पनिकीमा आधारित हुन्छ। अक्सर काल्पनिकीले वास्तविकताबाट आँखा चिम्लिएको हुन्छ।

नेपालमा 'मूल' को राजनीति
अन्य कतिपय मुलुक झैं नेपाल पनि लामो समयदेखि भौगोलिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रूपमा अत्यन्त बहुल र निकै हदमा असमान मुलुक रह्यो।

४००–५०० वर्ष यता यहाँको अर्थतन्त्र खुम्चेर रह्यो। उत्पादन पनि सानो पैमानाको रह्यो। विभिन्न 'मूल' र समुदायबीचको लेनदेन, बेचबिखन पनि साँघुरो दायराभित्रै सीमित र स्थिर रह्यो। जातजाति, लैङ्गिक, क्षेत्रीय आदि समूहहरूबीचको सामाजिक सम्बन्ध पनि स्थिर, पृथक् र असमान रह्यो।

हुनतः कतिपय अन्य मुलुकको स्थिति पनि नेपालभन्दा धेरै फरक थिएन। तर गएको एक, डेढ सय वर्षभित्र यूरोप, अमेरिका, जापान आदि मुलुकहरू पूँजीवाद र लोकतन्त्रको विकासक्रममा आन्तरिक रूपमा एकाकार हुँदै गए। तर, नेपालमा त्यसो भएन।

नेपालमा गएको ६०–६५ वर्षअघि शुरू भएको र २५ वर्ष अघिदेखि सघन बन्दै गएको लोकतन्त्रीकरण र पूँजीवादीकरण अन्तर्गत 'मूल' को राजनीति र संकथन परस्परविरोधी किसिमले प्रवाहित हुँदैछन्। एउटा प्रवाह पृथकता, असमानता विस्फोटन र कोलाहलका साथ उजागर हुँदैछ।

पहाड–मधेश, जात, जातिगत र लैङ्गिक सम्बन्धहरूको राजनीति र संकथन हाल समाजमा व्याप्त छ। आपसी शंका र द्वेष व्याप्त छ। संकथनहरू विभाजित छन्।

शंका र द्वेष अन्तर्गत 'मूल' को संकथन हतियारको रूपमा पनि प्रयोग भइरहेको छ। यद्यपि माथि भनिए झैं 'मूल' ले निकै हदसम्म वास्तविकभन्दा काल्पनिक चरित्र बोकेको हुन्छ। तर योसँगै लोकतन्त्रीकरण र पूँजीवादीकरण अन्तर्गत नै 'मूल' लगायत राजनीतिक–सांस्कृतिक पृथकता र असमानताको हल खोज्ने प्रक्रिया पनि शुरू भइसकेको छ।

लोकतन्त्रको जग नागरिकबीचको राजनीतिक, सांस्कृतिक समानता नै हो– 'मूल' हरूबीचको, पहाडी–मधेशीबीचको, 'माथिल्लो' र 'तल्लो' जातबीचको, खास गरेर दलित र अन्यको। वास्तवमा लोकतन्त्रले खोेज्ने भनेकै जातको वास्तविक खारेजी हो।

लैङ्गिक असमानता र विभेदको खारेजी पनि लोकतन्त्रको पूर्णताका निम्ति अपरिहार्य छ। यीमध्ये कतिपय पृथकता र असमानता तत्काल खारेज गरिहाल्नुपर्ने देखिन्छ।

राम्रो पक्ष त के छ भने, यस्ता विभेद खारेजीका लागि आवश्यक संवैधानिक र कानूनी प्रावधानहरू तयार छन्। चाहिएको भनेकै, त्यसअनुरूपको राजनीतिक, सांस्कृतिक, आर्थिक तयारी हो, जसका लागि सरकार र राजनीतिक दलहरूको दृढता हो।

राजनीतिक, सांस्कृतिक, पृथकता र असमानता विरुद्धका पाइलाहरूले पृथकता न्यून तुल्याउन, 'मूल' को राजनीति र संकथन मत्थर पार्न नागरिक समानता सुनिश्चित पार्ने काम गर्नेछ। नागरिक समानताले नै उल्लेख्य रूपमा आर्थिक उन्नति र समानताको ढोका खोल्छ। यो नै लोकतन्त्रको मूल मर्म हो।

लोकतन्त्र अन्तर्गत प्राप्त आन्दोलन, माग, दावी आदिका स्वतन्त्रताको अभ्यास गर्दै 'मूल' र पृथकतामुखी संघर्ष पनि चलिरहेको छ। माथि नै भनियो, यसखाले पृथकता, नश्लवाद आदिको वकालत र अभ्यास जात, जातीयता, लैङ्गिकता, क्षेत्रीयता आदिलाई लिएर पहिलेदेखि नै कायम छ।

तर लोकतन्त्र प्राप्तिपछि यो संघर्षले निरुपण गर्नुपर्ने एउटै मात्र प्रश्न छ, यो संघर्ष प्रथमतः समानताको लागि हो वा विशिष्टता वा पृथकताको लागि हो? विशिष्टता वा पृथकता सांस्कृतिक तहको हो वा जैविक नश्लीय तहको? किनभने, लोकतन्त्रमा सांस्कृतिक बहुलता अटाउने जमीन हुन्छ, तर जैविक नश्लीय विशिष्टता वा पृथकता अटाउने जमीन हुँदैन।

यो खाले विशिष्टता वा पृथकताले हामीलाई फेरि 'मूल' को राजनीति र संकथनतिरै पुर्‍याउँछ। जात, जाति, क्षेत्र आदिको राजनीतिक–सांस्कृतिक समानताको वकालत गर्दा मात्र हामी फराकिलो 'मूल' विहीन लोकतन्त्रको अभ्यासमा जुट्न सक्छौं।

प्रतिकृया दिनुहोस