बन्दका कारण सिरहाको जनजीवन प्रभावित
सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि सिरहा जिल्लाको जनजीवन प्रभावित भएको छ ।
‘बजार पसल बन्द छन् भन्ने लामो तथा छोटो दुरीका यातायातका साधन पूर्णरुपमा ठप्प रहेका छन् । मोर्चाका कार्यकर्ताले आज पनि बिहानैदेखि जिल्लाका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
यसैबीच बजार बन्द गराउँदै हिँड्ने क्रममा सिरहाको लहानबाट हिजो पक्राउ परेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्तालाई रिहा गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानमा राखिएका सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सत्यनारायण यादव, मोर्चाका नेता कृष्णबहादुर यादव, राजु गुप्ता, प्रयागलाल यादव, रामनाथ पण्डितलगायत १३ जनालाई रिहा गरेको हो ।
सप्तरीमा चार जनाको मृत्यु हुनेगरी भएको झडप पश्चात लहान बजार बन्द गराउने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
रासस