वित्तीय संस्थाको प्रणालीलाई थप समावेशी बनाइने
प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा वित्तीय संस्थाले वित्तीय स्रोत परिचालन गरेर जनताको जीवनस्तर उठाउन निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
एलायन्स फर बैंकिङ अन भ्यालुज र एनएमबी बैंकले संयुक्त रुपमा काठमाडौंमा आयोजना गरेको सम्मेलनको उद्घाटनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले पुँजी निर्माणका लागि जीवन रक्षक मानिएको बैंक तथा वित्तीय संस्था आर्थिक विकास र समृद्धिको आधार भएको बताएका हुन् ।
सरकारले केन्द्रीय बैंकमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी प्रवद्र्धन गर्न पहल गरेको बताउँदै प्रधानमन्त्रीले सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउन अधिकतम प्रयास गरिरहेको पनि जनाए ।
उदारीकरण अभियानअन्तर्गत दोस्रो चरणको वित्तीय सुधारलाई सरकारले अगाडि बढाएको जानकारी दिँदै बैंक तथा वित्तीय संस्थाको प्रणालीलाई कानुनमार्फत थप समावेशी बनाइने बताइ ।
सन् २०२२ सम्ममा नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलकमा रुपान्तरण हुन र सन् २०३० सम्ममा मध्यम आय हुने मुलुकको स्तरमा पुग्न पूर्वाधारमा ठूलो लगानी आवश्यक भएको बताउँदै प्रधानमन्त्रीले नेपालले ऊर्जा, यातायात र पर्यटन क्षेत्रमा विशेष लगानीको अपेक्षा गरिएको धारणा राखे ।
नाफाभन्दा जनता तथा समुदायको हित, असल शासन, जिम्मेवारी, पारदर्शिता, सामाजिक उत्तरदायित्व र बैंकिङ आचारमा प्राथमिकता दिने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा विभिन्न मुलुकका ४० बढी बैंकिङ संस्थाका प्रमुख कार्यकारी अधिकृतको सहभागिता रहेको छ ।
रासस