सरकारलाई दिएको समर्थन फिर्ताको पत्र पठाउन बाँकीः यादव
संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई आफूहरुले दिएको समर्थन फिर्ता बारे औपचारिक पत्र पठाउन मात्रै बाँकी रहेको बताएका छन् । सप्तरीमा प्रहरीसँगको झडपमा तीन जनाको ज्यान गएपछि २३ फागुन साँझ बसेको मोर्चाको बैठकपछि यादवले हिमालखबरसँग भने, “सरकारलाई दिएको समर्थन फिर्ताबारे सभामुखलाई औपचारिक पत्र पठाउन मात्रै बाँकी छ ।”
सप्तरी घट्ना लगत्तै तीनकुनेस्थित फोरमको कार्यालयमा बसेको मोर्चाको बैठकमा २४ फागुनमै सभामुखलाई पत्र पठाउने विषयमा छलफल भएको थियो । यद्यपि पत्र पठाउने मिति भने निश्चित भईनसकेको अध्यक्ष यादवले जानकारी दिए ।
बैठकपछि जारी विज्ञप्तिमा भने समर्थन फिर्ता बारे उल्लेख छैन । विज्ञप्तिमा भनिएको छ, “सरकारले गरेको यस्तो राज्य आतंक, हिंशा र हत्या गर्ने कार्यले मानवअधिकार र अन्तर्राष्ट्रिय मानवीय कानूनको समेत उल्लंघन गर्ने कार्य भएको छ । सरकारको यस्ता गैर लोकतान्त्रिक एवं अमानवीय हिंशात्मक कार्यको मधेशी मोर्चा घोर निन्दा एवं भत्र्सना गर्दछ ।”
मोर्चाले घाइते भएकाहरुको तत्काल स्वास्थ्य उपचारका साथै हत्यामा दोषि रहेकाहरुलाई तुरुन्त कारबाही गर्न माग गरेको छ ।
बैठकमा फोरम अध्यक्ष यादव, सद्भावना पार्टीका अध्यक्ष, राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झा, तराई मधेश लोकतान्त्रिक पार्टीका सहमहामन्त्री राकेशकुमार मिश्र लगायत सहभागी थिए ।