विशेष अदालतबाट ६ चिकित्सकसहित १२ जनालाई सफाइ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएका ६ चिकित्सकसहित १२ जनाले विशेष अदालतबाट सफाइ पाएका छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त पोखराको गण्डकी मेडिकल कलेजको अनुगमन गर्ने ६ जना चिकित्सकसहित १२ जनालाई विशेष अदालतका न्यायाधीस भुपेन्द्र कुमार राईको इजलासले अख्तियारले दायर गरेको मुद्दामा सफाइ दिएको हो ।
अख्तियारले कलेजको एमबिबिएस तहको सिट निर्धारण गर्नु अघि भएको अनुगमनका क्रममा भ्रष्ट्राचार गरेको भन्दै बिशेष अदालतमा दायर गरेको थियो । ७ जेठ, २०७३ मा अख्तियारले कलेज सञ्चालकसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेकोमा प्रा.डा. गणेश राई, प्रा.डा. नरमाया थापा, डा. राजिव यादव, डा. प्रेणित पोखरेल, डा. कृष्ण अधिकारीले सफाइ पाएका हुन् ।
त्यस्तै सफाइ पाउनेमा गण्डकी मेडिकल कलेजका अध्यक्ष खुमाप्रसाद अर्याल र सञ्चालकहरु रमेश शर्मा, प्रकाश लामिछाने, भेषराज अर्याल, हुमानाथ कोइराला, निशानराज भण्डारील रहेका छन् ।
अख्तियारले निरीक्षण टोलीमा सदस्य तोकिएका ‘प्रा. डा. गणेश कुमार राईसमेतले सरकारी निकाय तथा सार्वजनिक संस्थाको कामको सिलसिलामा कुनै विषयको अध्ययन वा जाँचबूँझ गरी प्रतिवेदन दिनु पर्नेमा स्थलगत जाँचबुँज गरी प्रतिबेदन दिदाँ बदनियतपूर्वक भए गरेका कुरा लुकाई छिपाई हुदै नभएका गलत विवरण देखाएको’ आरोप लगाएको थियो ।
सम्बन्धित थप समाचार : अख्तियारको ‘कार्यकारी’ बन्ने मनसुवा