सप्तरीमा बिहानैदेखि चक्काजाम गरेर मोर्चाको प्रदर्शन
मधेशी मोर्चाले आज बिहानैदेखि सप्तरीमा विरोध प्रदर्शन सुरु गरेको छ । ठाउँ ठाउँमा चक्काजामसहित मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।
नेकपा (एमाले)को मेची–महाकाली अभियानको विरोधमा मोर्चाले २३ फागुनमा सप्तरी बन्दको आह्वान गरेको छ । बिहानैदेखि लाठी बोकेर मोर्चाका कार्यकर्ता प्रदर्शन गरिरहेका छन् ।
सप्तरी सदरमुकाम राजविराज, कञ्चनपुर र भारदहमा टायर बालेर मोर्चाका कार्यकर्ता विरोधमा उत्रिएका छन् । हातमा लाठी बोकेर मोर्चाका कार्यकर्ता प्रदर्शनमा उत्रिएपछि यातायात, बजार बन्द भएको छ ।
कञ्चनपुरबाट प्रहरीले उपेन्द्र मैरता यादव, थापा यादवसहित तीन जना मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । सप्तरीका बिभिन्न स्थानमा मोर्चा कार्यकर्ता र प्रहरीबीच झडपका अवस्था आएपनि प्रहरीले साम्य पारेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । आज दिउसो १ बजे एमालेको मेची–महाकाली अभियान राजविराज पुग्ने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै एमालेले सप्तरीमा सभा गर्न लागेको ठाउँ औद्योगिक क्षेत्र नजिकै शंकास्पद वस्तु राखिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनीदेखि राजविराजतर्फ प्रवेश गर्ने ठाउँमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
औद्योगिक क्षेत्र र रुपनीको बीचमा रहेको पुलमा रातो कपडामा बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको सप्तरीका प्रहरी प्रमुख एसपी दिवेश लोहनीले बताए । उनले भने, “यो वस्तु बम पनि हुन सक्छ ।” उनले त्यसको पहिचानका लागि नेपाली सेनाको टोली बोलाइएको जानकारी दिएका छन् ।
श्रवणकुमार देव, राजविराज