स्थानीय तहको संख्या ७४४ बनाउने सरकारको निर्णय, प्रदेश २ मा २१ वटा थप
सरकारले स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को २२ फागुन साँझ बसेको बैठकले २५ वटा स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेको हो ।
गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगले दिएको ७१९ वटा स्थानीय तहको संख्या सरकारले परिमार्जन गरेको हो ।
मधेशी मोर्चाको माग समेट्न प्रदेश नम्बर दुईमा मात्रै २१ वटा स्थानीय तह थप गर्ने भएको छ । थपिएपछि प्रदेश दुईमा स्थानीय तहको संख्या १२७ वटा पुगेको छ । प्रदेश २ मा तराई मधेशमा आठ जिल्ला छन् ।
यसैगरी सरकारले काठमाडौंमा दुई वटा र मनाङ र बझाङमा एक एक वटा स्थानीय तह थप गर्ने निर्णय गरेको हो ।
परिमार्जित संख्या सहितको स्थानीय तहको संख्या छिट्टै राजपत्रमा प्रकाशित गरिने स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।
तस्वीरः प्रधानमन्त्रीको सचिवालय