मधेशी मोर्चालाई लोकतन्त्र विपरित नजान निगरानी समितिको आग्रह
जवाफदेहीता निगरानी समितिले एमालेको मेची-महाकाली राष्ट्रिय अभियानमा अवरोध नगर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई आग्रह गर्दै शान्ति सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।
आज एक विज्ञप्ति जारी गर्दै समितिले दलहरूको शान्तिपूर्ण कृयाकलापउपर बाधा पुर्याउने अलोकतान्त्रिक कृयाकलाप नगर्न मोर्चालाई आग्रह गरेको हो ।
विज्ञप्तिको पूर्ण पाठ:
लोकतन्त्रको प्राण नागरिक सर्वोच्चतामा रहेको हुन्छ । त्यसैले बिना त्रास र दबाब नागरिकले वार्ता गर्ने, तर्क गर्ने, सङ्गठित हुने, निर्वाध आवागमन, पेशा व्यवसाय गर्ने अधिकारलाई अन्तर्राष्ट्रिय र राष्ट्रिय कानुनले मौलिक र अनुल्लङ्घनीय नागरिक हककारूपमा व्यवस्थित गरेका छन् ।
नेपाल बहुदलीय लोकतान्त्रिक देश हो भन्ने कुरामा कसैको विमति छैन । बहुदलीय व्यवस्थामा नागरिकको सङ्गठित आवाजका प्रतिनिधि राजनीतिक सङ्गठनहरू नै हुन् ।
सभ्य राजनीतिको अगुवा प्रतिनिधिका रूपमा शान्तिपूर्ण सभा, तार्किक र निर्वाध कृयाकलाप गर्ने कामलाई आत्मसात गर्नु र सहयोग गर्नु राजनीतिक दलहरूको नियमित काम मात्र होइन कर्तव्य पनि हो ।
नेपालमा केही समय यता हाम्रा अगुवा राजनीतिक सङ्गठनद्वारा नै सङ्गठितरूपमा अर्काको अभिव्यक्ति गर्ने अधिकारउपर बाधा विरोध गर्ने चरित्र मौलाउँदै गएको छ ।
यसै सन्दर्भमा नेकपा एमालेद्वारा आयोजित मेची–महाकाली राष्ट्रिय एकता यात्रामा भिडन्त हुनसक्ने भनी मधेस केन्द्रित दलका अगुवाहरूको अभिव्यक्ति आएको छ । सप्तरीमा तिनका कार्यकर्ताले एमालेका प्रचारकलाई मोसो दलेका छन् ।
मधेसी मोर्चाले एमालेद्वारा पूर्वघोषित कार्यक्रमलाई बाधा गर्ने गरी समानान्तर विरोधका कार्यक्रमहरूको घोषणा गरेको छ ।
दलहरूको शान्तिपूर्ण कृयाकलापउपर बाधा पुर्याउने अलोकतान्त्रिक कृयाकलापप्रति हामी पूर्ण असहमत छौँ । मधेसी मोर्चालाई आफ्नो लोकतान्त्रिक छवि धुमिल हुन नदिनेतर्फ सचेष्ट रहनसमेत आग्रह गर्दै नेपाल सरकारलाई शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध गर्न ध्यानाकर्षण गर्छौँ । साथै आमनागरिकसमक्ष पनि अरुको तर्क र विचार अभिव्यक्ति गर्ने मौलिक अधिकारको सम्मान गर्न र मुठभेड निम्तने काममा सामेल नहुन अपिल गर्छौँ ।
चरण प्रसाईं
संयोजक, जवाफदेहिता निगरानी समिति