राजनीतिक दलको कार्यक्रममा अवरोध नगर: आयोग
राष्ट्रिय मानवअधिकार आयोगले नेकपा एमालेको पूर्वनिर्धारित कार्यक्रममा संयुक्त मधेशी मोर्चाले पुर्याएको अवरोधलाई मानवअधिकारको मूल्यमान्यता विपरित रहेको भन्दै त्यस्तो व्यवहार तुरुन्तै रोक्न मोर्चासँग आग्रह गरेको छ ।
“एउटा दलले आफ्ना कार्यक्रमहरु सार्वजनिक गरिसकेपछि सो कार्यक्रम विथोलिने गरी अरुले कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यत्रबाट सकारात्मक परिणाम प्राप्त हुने देखिंदैन । हिंसात्मक बाटो अपनाउँदा २०६३ सालको चैतमा रौतहटको गौरमा भएको घटनालाई विर्सन सकिंदैन,” आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आयोगले २० फागुनमा एमाले सप्तरी सचिव शम्भु यादव र सह–सचिव प्रतापनारायण चौधरीलाई राजविराजमा मधेशी मोर्चाका कार्यकर्ताले हातपात गरी कालो मोसो दलेको, एमाले नेता तथा सांसद रन्जु झा चढेको जीपमाथि ढुंगामुढा भएको घटनाका साथै १५ फागुनमा रौतहटको गौरमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुवैपक्ष केही घाइते भएको घटनाप्रति आफ्नो ध्यानकर्षण भएको जनाएको छ ।
आयोगले विना हातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार अभिव्यक्तिको स्वतन्त्रतालाई विभिन्न सन्धी, सहमति र घोषणपत्रले सुरक्षित गरेको पनि आयोगले स्मरण गराएको छ ।
आयोगले अगाडि भनेको छ, “यसरी कुनैपनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा सक्रिय कार्यकर्तामाथि अमर्यादित र मानव अधिकारको मर्म विपरितको कार्य भएकोले यस्ता व्यवहारहरु तुरुन्त रोक्न, कुनैपनि राजनीतिक दलको पूर्व निर्धारित कार्यक्रमहरुलाई प्रत्यक्ष अवरोध हुने गरी कुनै पनि राजनीतिक गतिविधि नगर्न नगराउन र यस्ता घटना दोहोरिन नदिन आयोग संयुक्त मधेशी मोर्चा लगायत सम्बन्धित सबै राजनीतिक दललाई आग्रह गर्दछ ।”