दरम खोला ‘ओभरफ्लो’ भएर बग्न थाल्यो (अपडेट)
बाग्लुङ्गको रिघा-७ को मनेवापाटामा गएको पहिरोले थुनिएको दरम खोला अहिले ‘ओभरफ्लो' भएर बग्न थालेको छ ।
करिब २०० मिटर लम्बाइ र १५० मिटर चौडाइ भएको सुख्खा पहिरोले दरमखोलालाई विहानदेखि २ घण्टा भन्दा बढी थुनिएको थियो ।
पानी पहिरोले बनाएको बाँधमाथिबाट बग्न शुरु गरेपछि स्थानीयलाई केही राहत भए पनि त्रास कायम नै छ ।
खोला किनारका बस्ती र खोला छेउमा काम गरिरहेका तल्लो तटका वासिन्दालाई त्यहाँबाट अन्यत्र जान प्रहरी चौकी खर्बाङ्गले आग्ह गरेको छ ।
प्रहरीचौकी खर्बाङ्गका प्रहरी नायब निरीक्षक भोजराज बानियाँका अनुसार हिजो बेलुका देखि नै माटो खस्न शुरु गरे पनि बिहान ५ बजे ठूलो पहिरो गएको हो ।
पहिरोले स्थानीय मनकुमारी शाहीको घर जोखिममा पारेको छ । उनलाई प्रहरीले उद्धार गरी अन्यत्र सारेको छ ।
पहिरोले मध्यपहाडी लोकमार्ग समेत बगाउँदा सडक पूर्ण रुपमा ठप्प छ । सडक केही दिन सञ्चालनमा आउने सक्ने स्थिति नरहेकोे प्रनानी बानियाले जानकारी दिए ।
उनका अनुसार सामान्य उपकरणले उक्त सडक खुलाउने अवस्था छैन ।
सडक अबरुद्ध हुँदा बुर्तिबाङ्ग–काठमाण्डौको यात्रा शुरु गरेका यात्रुहरु मर्कामा परेका छन भने गाडीहरु खर्बाङ्गमै रोकिएका छन ।
यातायातको लागि वामीटक्सार–काँडेबास–हटिया सडक खण्डलाइ बैकल्पिक सडकको रुपमा प्रयोग गर्न सकिने छ ।
त्यस क्षेत्रमा केही दिन यता निरन्तर डोजर प्रयोग गरी सडक स्तरोन्नतीको काम चलिरहेको थियो । जस्ले गर्दा जमिन कमजोर भइ पहिरो गएको हो ।
अनिश शर्मा गैरे