स्मशानघाट विवादमा सुनसरीमा झडप
सुनसरी जिल्लाको सदरमुकाम इनरुवासँगै जोडिएको नरसिंह–४ मा रहेको स्मशानघाट प्रयोग गर्ने विषयमा बढेको विवाद दोहोरो झडपमा परिणत हुँदा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
सुनसरी खोला किनारमा रहेको ऐलानी जमिनमा रहेको स्मशानघाटको विषयमा भएको विवादमा अप्रिय घटना हुन नदिनका लागि सशस्त्र र जनपद प्रहरीको ठूलो सङ्ख्याका सुरक्षाकर्मी परिचालित भएका छन् । गम्भीर घाइतेमध्ये करिब एक दर्जनलाई विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको प्रहरीले जानकारी दिएको छ ।
अन्य केही घाइतेलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र केहीको जिल्ला अस्पताल इनरुवा र आसपासका स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ ।
स्मशानघाट प्रयोग गर्ने विषयमा बिहान ९ बजेतिर स्थानीय चिया पसलमा कुराकानी एवम् संवाद चलिरहेका बेला एक्कासि ढुङ्गा प्रहार भएपछि मुस्लिम समुदाय र यादव समुदायबीच घमासान दोहोरो झडप उत्पन्न भएपछि तत्कालै सुरक्षाका लागि त्यहाँ पुगेको सशस्त्र र जनपथ प्रहरीको टोलीले स्थितिलाई नियन्त्रणमा लिएको घटनास्थलबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दलबहादुर श्रेष्ठले जानकारी दिए ।
दुईपक्षीय झडपमा करिब एकहजार पुरुष महिला युवा–युवतीलगायतको सहभागिता रहेको तथा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी नपुगेको भए सो स्थानमा निकै ठूलो मानवीय नोक्सानी हुने अवस्था रहेको पनि उनले जानकारी दिए ।
स्मशानघाटको विषयमा उत्पन्न समस्यालाई समाधान निकाल्नका लागि दुवै पक्षलाई बार्ताका लागि आहवान गरिसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले बताए ।
सोही विषयमा जानकारी दिनुहुँदै नेपाल प्रहरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले घट्नालाई शसस्त्र र जनपथ प्रहरीले नियन्त्रणमा लिई गाउँमा शान्ति सुरक्षा कायम गरिसकिएको बताए ।
घट्ना भएपछि इनरुवा अस्पतालमा उपचारार्थ रहेका घाईते मुस्लिम तथा यादव समुदायका मानिसहरुलाई धैर्यता अपनाउन आग्रह गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिताराम मेहताले कुनै पनि हालतमा स्मशानघाटको विषयलाई जातीय वा धार्मिक मुद्दा नबनाउन सम्बद्ध सबैलाई आग्रह गरे ।
घटनापछि विभिन्न राजनीतिक दलका नेताहरुसमेत घटनास्थल र अस्पतालमा पुगी घाइतेको अवस्था जानकारी लिने कार्य भइरहेको तथा उनीहरुले घटनालाई केवल जमिन प्रयोगको विवाद रहेको विषयमा केन्द्रित राख्न आग्रह गरिएको छ ।
सो घटनामा नरसिंह–४ का ३० वर्षीय बेचन यादव, १६ वर्षीय दिपेश यादव, ३० वर्षीय सञ्जय यादव, २२ वर्षीय धीरेन यादव, रीतु यादव, १७ वर्षीय याकुव अन्सारी, ६३ वर्षीय भोला मियाँ, ३९ बर्षीय इस्लाम मियाँ, ५० वर्षीय रोजित खातुन, ३८ बर्षीय जाहारुन खातुनलगायत घाइते भएका छन् । रासस