टिप्पणीआइतवार, फाल्गुण २२, २०७३

अर्ग्यानिक जिन्दावाद

हिमालखबर

-हरिहर गुरागाईं

केही महीना अगाडि कामको सिलसिलामा अमेरिका, क्यानाडा र मेक्सिकोका किसानहरूसँग अन्तरक्रिया गर्ने अवसर मिल्यो। यो अवलोकन भ्रमणबाट मैले बाल्यकालदेखि नियालिरहेको कृषि व्यवसायमा नेपाल र उत्तरअमेरिकाको प्रणालीबीच भिन्नता छर्लङ्ग थाहा पाएँ। केही अपवादलाई छाड्ने हो भने नेपालका किसान वर्ग आर्थिक, राजनीतिक, सामाजिक र प्रशासनिक रूपमा कम हैसियत भएका श्रमजीवी हुन्। त्यसको ठीक विपरीत उत्तरअमेरिकाका किसानको आर्थिक, राजनीतिक, सामाजिक, प्रशासनिक आदि हैसियत अत्यन्तै उच्च छ। यसले मलाई थप उत्सुक बनायो। 

बृहत् क्षेत्रफलमा खेती, व्यापक यान्त्रीकरण र अत्याधुनिक प्रविधिले यता कृषि उपजको उत्पादन मूल्य अत्यन्तै न्यून बनाएको छ। त्यसबाट किसानहरू अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सफल भएका छन्। उत्तर अमेरिकामा कृषि मजदूरको न्यूनतम तलब नेपालको भन्दा कम्तीमा २५ गुणा बढी छ। धेरैजसो खाद्य सामग्रीको खुद्रा मूल्य भने सरदर उही छ, केहीको दोब्बरसम्म बढी छ। विकसित देशहरूको महँगो बजार व्यवस्थापन खर्च घटाएर हेर्दा सम्पूर्ण कृषि उपजको उत्पादन लागत नेपालको भन्दा निकै कम हुन जान्छ।

हुन त, नेपाल र उत्तर अमेरिकाबीच धेरै असमानता छन्। विश्वव्यापी रूपमा प्रयोग हुने खानेकुराको खर्च र कुल आम्दानीको अनुपात (इन्जल रेसियो) मा पनि ठूलो भिन्नता छ। विश्व ब्यांकको पछिल्लो प्रतिवेदन अनुसार, १० प्रतिशत इन्जल रेसियोमा अमेरिका र क्यानाडा क्रमशः दोस्रो र सातौं स्थानमा छन् भने नेपाल ६० प्रतिशतको हाराहारीमा रहेर ११५औं स्थानमा छ। अर्थात्, आम नेपालीको कुल आम्दानीको ६० प्रतिशत खर्च खानपानमा छ, जुन अमेरिका, क्यानाडालगायत विकसितदेशमा १० प्रतिशतको हाराहारीमा छ।

नेपाल कृषिप्रधान देश भए पनि खाद्य पदार्थ यति धेरै महँगो हुनुको धेरै कारणमध्ये कृषि प्रणाली एक हो। जस्तो, हामीले खाने चामलको मूल्य काठमाडौंमा सरदर रु.८० प्रति किलो छ। त्यही गुणस्तरको एक किलो चामललाई अमेरिका र क्यानाडामा सरदर रु.१६० पर्छ भने भारतमा सरदर रु.४० मा पाइन्छ। अमेरिका र क्यानाडामा मकै, गहुँको पीठो, दाल, दूध, तरकारी, घ्यू, तेल र फलफूल नेपालभन्दा केही कम वा उस्तै मूल्यमा पाइन्छन्। भारतमा यी सबै खानेकुरा नेपालमा भन्दा सस्तो पर्छ।

यसरी अहिले नेपालमा कृषि उत्पादनहरू प्रतिस्पर्धी मूल्यमा नपाइनुको अर्थ विश्वबजारबाट आयातीत खाद्य सामग्रीले भोलि सबै नेपाली उपजलाई विस्थापित गर्न सक्छ भन्ने हुन्छ। अहिले नै पनि नेपालका खाद्य पसलहरूमा स्वदेशी उपज न्यून हुन थालिसकेको छ। यो अवस्थालाई हेर्दा अब सरकारले हरेक वर्ष कृषिमा गर्ने लगानी र छुट्याउने बजेट नयाँ नीतिका साथ आउनुपर्ने टड्कारो देखिन्छ। नेपाल जस्तो एकीकृत खेती गर्न समस्या भएको भौगोलिक अवस्थामा परम्परागत शैलीबाट पक्कै पनि बजार प्रतिस्पर्धा गर्न सकिन्न।

विकसित देशहरूमा अहिले अर्ग्यानिक खाद्य पदार्थहरू गैर–अर्ग्यानिकको भन्दा तीनदेखि पाँचगुणा बढी मूल्यमा बिक्री भइरहेका छन्। जैविक स्रोतको प्रशस्त उपयोग र रासायनिक प्रदूषणको व्यवस्थापन गर्नसके अर्ग्यानिक कृषि प्रणाली नेपालका लागि राम्रो अवसर हुने अवस्था छ। नेपाली अर्ग्यानिक चियाले अन्तर्राष्ट्रिय बजारमा पाएको सफलता यसको दृष्टान्त हो।

सन् २०१५ मा विश्वमा ८१.६ अर्ब अमेरिकी डलर बराबरको अर्ग्यानिक खाद्य तथा पेय पदार्थ बिक्रीवितरण भएको रिसर्च इन्ष्टिच्यूट अफ अर्ग्यानिक एग्रिकल्चरको तथ्याङ्क छ। २०१६ सम्ममा १७२ राष्ट्रका २४ लाख किसानले ५ करोड ९ लाख हेक्टर जमीनमा व्यावसायिक अर्ग्यानिक खेती गरेको सोही तथ्यांकमा उल्लेख छ। त्यस अनुसार, अर्ग्यानिक खेती गर्ने प्रमुख तीन देश अष्ट्रेलिया, अर्जेन्टिना र अमेरिकामा क्रमशः २ करोड २७ लाख हेक्टर, ३१ लाख हेक्टर र २२ लाख हेक्टरमा अर्ग्यानिक खेती गरियो। अष्टे्रलियामा कुल खेतीयोग्य जमीनको २१.३ प्रतिशत भाग अर्ग्यानिक खेतीमा परिणत भइसकेको रिसर्च इन्ष्टिच्यूट अफ अर्ग्यानिक एग्रिकल्चरको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

विकसित देशहरूमा बढ्दो अर्ग्यानिक खाद्य बजारले गर्दा विश्वमा अर्ग्यानिक खेतीको विस्तार तीव्र भइरहेको छ। यो परिस्थितिमा परम्परागत कृषि प्रणालीका लागि अत्यधिक विषादि र रासायनिक मल आयात गरेर कम गुणस्तर र मूल्यका कृषि उत्पादन गर्नु नेपालको हितमा छैन। अन्तर्राष्ट्रिय बजारमा सस्तोमा पाइने सामान्य खाद्य पदार्थहरू छानीछानी किन्ने र देशभित्र अर्ग्यानिक खेतीको लहर चलाउने हो भने नेपाली किसानहरू पनि विकसित देशका किसानहरू जस्तै धनी हुनेछन्। यसका लागि सरकारले तत्कालै जनचेतनाअभिवृद्धि र जैविक प्रमाणीकरणको व्यवस्थादेखि प्रयोगशाला, बीउबिजन, बजार व्यवस्थापन र सहजीकरणसम्मका काम थाल्नुपर्छ।
(खाद्य वैज्ञानिक गुरागाई क्यानाडामा कार्यरत छन्।)

प्रतिकृया दिनुहोस