आर्मीलाई पराजित गर्दै संकटाले जित्यो तिलोत्तमा गोल्डकप
सिएमजी संकटा क्लबले तिलोत्तमा गोल्डकपको उपाधि जितेको छ । बुटवल, देविनगरस्थित एन्फा टेक्निकल सेन्टिरमा २१ फागुनमा विभागीय क्लब त्रिभुवन आर्मीलाई २–१ ले स्तब्ध पार्दैै संकटाले उपाधि जितेको हो ।
आर्मीले ३० औं मिनेटमा राजीव गुरुङको गोल मद्दतले अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा संकटाका लागि बराबरी गोल गरेका निराजन खड्काले ८५ औं मिनेटमा दोस्रो तथा निर्णायक गोल गरे ।
उपाधि विजेताले रु. ५ लाख ५५ हजार ५५५ र उपविजेताले रु.३ लाख ५५ हजार ५५५ प्राप्त गरेका छन् ।
प्रतियोगतामा उत्कृष्ट गोलकिपर संकटाका विनय श्रेष्ठ, हाइ स्कोरर त्रिभुवन आर्मीका दीप लामा, उत्कृष्ट मीडफिल्डर संकटाका निराजन खड्का र डिफेन्स त्रिभुवन आर्मीका टिम क्याप्टेन हिरण्य मगरले जनही रु. १५ हजार नगद पुरस्कार पाए । उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गीले रु.२० हजार नगद पुरस्कार पाए ।
बेष्ट प्लेयर अफ दि टुर्नामेन्ट आयोजक रुपन्देही ११ का क्याप्टेन दिलीप क्षेत्रीले नगद १५ हजार सहित स्कूटर पाए । तिलोत्तमा फुटबल प्रतियोगिताको १९ औं सस्करण १२ फागुनबाट शुरु भएको थियो । प्रतियोगितामा भारतका दुई टिमसहित नेपालका ए डिभिजनका १० वटा क्लबहरुले सहभागीता जनाएका थिए ।
दीपक ज्ञवाली, बुटवल